नेपाली सेना सुरक्षा रणनीति परिमार्जन गर्दै

स्रोत जुटाउन सरकार प्रयास गर्छ : प्रधानमन्त्री देउवा



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाली सेनाले वार्षिक सुरक्षा नीति निर्माण गर्ने उद्देश्यले प्रथम कमाण्ड सेनापति सम्मेलन बिहीबारबाट शुरू भएको छ ।

सैनिक मुख्यालयमा शुरु भएको यस सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल गर्न र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुने जानकारी दिइएको छ ।

नेपाली सेनाले आफ्नो संरचनालाई कमान्ड अवधारणामा लगेपछि पहिलो पटक उक्त सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभयो । सम्मेलनमा चार कमान्डका प्रमुखहरु, मुख्यालयभित्र रहेको विभागका प्रमुखहरु, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरुको सहभागिता रहेको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंगका रूपमा रहेको नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमको सम्मेलनले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै आगामी दिनमा आउने चुनौतीको सामना गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।

उहांँले नेपाली सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्ने योजना गरेका दीर्घकालीन महत्वका कामको स्रोतको सुनिश्चितता गर्न सरकारको हरसम्भव प्रयास हुने जानकारी दिनुभएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेशहरु अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताउनुभयो ।

उहांँले प्राप्त जिम्मेवारी पूर्णरूपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा सधैं सेना अडिक रहने प्रतिवद्धता व्यक्त गर्दै देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँंग सरोकार राख्ने सबै प्रकारका गतिविधिका बारेमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गर्दै रहेको र त्यसबाट सिर्जना हुन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सेना सदैव तयारी अवस्थामा रहेको समेत जानकारी गराउनुभयो ।

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले राष्ट्रिय सुरक्षाको संरक्षण र सम्वद्र्धनका लागि नेपाली सेनाले अघि सारेका सबै योजना मूलतः नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ तथा पुनःसंरचनाका कार्यको सफल कार्यान्वयनमा नेपाली सेनालाई आवश्यक पर्ने सुझाव वा सहयोग एवं सहजीकरणका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

सम्मेलनमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा कमान्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्