गोवध अभियोग: विनाशर्त रिहाइ नगरे देशभर आन्दोलनको चेतावनी


हेटाैँडा, (नेस) ।

गोवध अभियोगमा मकवानपुरमा १० जनालाई पक्राउ गरेर प्रहरीले मुद्धा चलाएपछि नेपाल तामाङ घेदुङ (नेवाः तामसालिङ) बागमती प्रदेश आक्रोशित भएको छ ।

मरेको गाई व्यवस्थापन गरिरहेका स्थानीयलाई गाई काटेको आरोपमा नियोजित र षडयन्त्रपूर्ण ढंगले प्रहरीले पक्राउ गरेको भन्दै घेदुङले उनीहरुलाई विनाशर्त रिहाइको माग गर्दै यदि त्यसो नभए देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो ।

मकवानपुर प्रहरीले आइतबार साँझ १० जनालाई पूर्वी मकवानपुरको बकैया गाउँपालिकाबाट पक्राउ गरेर मुद्धा चलाएको छ । बकैया–११ को कालीदमारका ३८ वर्षीय जनकबहादुर लो, ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो र सुनबहादुर तामाङ, सीमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रह्लादभक्त न्यासुर, १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश बिक, ३६ वर्षीया फुलमाया थिङलाई पक्राउ गरिएको घटनाप्रति घेदुङले विरोध जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको ११ जना प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको थियो ।

मुलुक धर्मनिरपेक्ष भइसके पनि व्यवहारमा अझै हिन्दुराज्यको धङ्धङी रहेको भन्दै घेदुङले संविधानको बर्खिलाप हुने गरी स्वतन्त्ररुपमा बाँच्ने र बाँच्न पाउने नागरिक अधिकारको ठाडो उलंघन भएको जनाउँदै आदिवासी जनजाति र दलित समुदायलाई लक्षित गरेर फसाउने नियत राखिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा भन्दै ‘गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा’ उनीहरुलाई पक्राउ गरिएको भन्ने नियोजित षडयन्त्र गरी स्थानीयलाई फसाउन खोजेको तर पक्राउ गरिएकाहरुले मरेको गाई व्यवस्थापन गर्न खोजेका घेदुङले दाबी गरेको छ ।

झुठो आरोप लगाएर क्षणिक लोकप्रियता कमाउने नाममा स्थानीयलाई पक्राउ गर्ने कार्यमा संलग्न प्रहरीलाई अविलम्ब छानबिनको दायरामा ल्याई आवश्यक कारबाही गर्न नेपाल सरकारसमक्ष माग गर्दछौं,’ विज्ञप्तिमा अन्यथा देशव्यापीरुपमा कडा आन्दोलनमा उत्रने र उत्पन्न परिस्थितिको सामना गर्न सम्बन्धित निकायलाई चेतावनीसमेत दिइएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट १४ दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो । पक्राउ परेका सबैमाथि गोवधसम्बन्धि मुद्धा चलाइएको प्रहरीले जनाएको छ । उक्त मुद्धामा तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।