माधव र प्रचण्ड कम्युनिस्ट रहन सकेनन् : ओली


नेपाल समाचारपत्र बाँके ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डलाई भाई–कांग्रेसको संज्ञा दिनुभएको छ ।

नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नुपर्नेमा अझै माक्र्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेका छन् ।’

अध्यक्ष ओलीले माधव नेपाललाई केही समयमै दुई/चार जना लिएर कसैको दैलोमा जाने बताउनुभयो । ओलीले भन्नुभयो – ‘पार्टीलाई गलत ढंगले कब्जा गर्ने प्रयास भएको थियो । कार्यकर्ताले त्यसलाई निस्तेज पारिदिए । नदीको छालले फोहोर मैलालाई किनारामा पुर्‍याएजसरी किनारामा पु¥याइदिए ।’

अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गर्नुभयो । ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन् । यिनको राजनीति फर्किंदैन ।’

ओलीले माधव नेपाल आफ्नो सरकार ढालेर अर्काको सरकारमा दुई÷चार जना मन्त्रीको मरिहत्ते गरिरहेको बताउनुभयो । ‘हाम्रा घरका बिराला तपाईंको भान्छामा पुगेका छन् । अलिकति खान दिनु न भनेको छु । तर, खान पनि दिंदैनन् त, ओलीले भन्नुभयो ।

ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने ठोकुवा गर्नुभयो । ‘प्रचण्डले कहिलेकाँही राम्रो कुरा गर्छन् । अस्ती कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्, ओलीले भन्नुभयो, धेरै भाग खान हिडेका थिए । अब सकिन्छन् ।’

ओलीले माधव नेपाल र प्रचण्डको दिमागमा पद, मान, सम्मानमात्रै रहेको बताउनुभयो । ‘यिनीहरूले हिमालतिर हेर्दैनन्, खाली सिंहदरबारतिर मात्रै हेर्छन्, ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने बताउनुभयो । ‘यो सरकार त मुद्दा लडेर जाली किर्ते पाराले भनेको सरकार हो । पाँच दलीय गठबन्धनको यो सरकारले केही गर्नेवाला छैन, ओलीले भन्नुभयो, गठबन्धनमा चन्द्रमुखी छन् । कोही कता फर्केका छन्, कोही कता फर्केका छन् ।’

यतिका दिन हुँदासम्म सरकारलाई पूर्णता दिन नसकेकोतर्फ व्यंग्य गर्दै ओलीले एकजना परराष्ट्रमन्त्री नियुक्त गर्दा भोज खाएका छन् भन्नुभयो । यो सरकारले राम्रो केही गर्न नसक्ने र भएका राम्रा कामलाई रद्द गर्ने बाटोमा अघि बढेको बताउनुभयो ।

लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, लिला गिरी, मोहम्मद हारुनलगायतले एमालेलाई एक ढिक्का बनाएर अघि बढ्न अनुरोध गर्नुभयो ।

पार्टी अध्यक्ष ओलीको भाषण सुन्न ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो । त्यसअघि ओलीले बर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।