प्रधानमन्त्री मोदीले भारत -अमेरिका साझेदारीको समीक्षा गर्ने


इन्डिया न्युज नेटवर्क ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारदेखि शुरू भएको चार दिवसीय अमेरिका भ्रमणमा जानुअघि आफ्नो बयानमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग द्विपक्षीय भेटघाटमा भारत अमेरिकाबीचको व्यापक अन्तर्राष्ट्रिय रणनीतिक साझेदारीको समीक्षा गर्ने र त्यसबारे विचार आदानप्रदान गर्ने बताएका छन् । यसका साथै उनले पारस्परिक हित तथा क्षेत्रीय र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूबारे पनि चर्चा गर्ने बताएका छन् ।

उनी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा सेप्टेम्बर २२ तारिखदेखि २५ तारिखसम्म अमेरिका भ्रमणमा रहनेछन् ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणको क्रममा उपराष्ट्रपति कमला हैरिसलाई भेट्न आतुर रहेको बताएका छन् । साथै उनी यस भ्रमणमार्फत विज्ञान र प्रविधि क्षेत्रमा दुई देशबीच सहयोगको नयाँ अवसर सिर्जना गर्न इच्छुक रहेको पनि बताएका छन् ।

यसका साथै पहिलोपटक सम्पूर्ण सदस्य राष्ट्रका प्रमुख नेतृत्वको भौतिक उपस्थितिमा क्वाड शिखर सम्मेलन हुनगइरहेको छ । प्रधानमन्त्री मोदीले उनी यस सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री सुगा र राष्ट्रपति बाइडेनसहित सहभागी हुने जानकारी दिएका छन् ।

यसका साथै मार्च महिनामा आयोजित शिखर सम्मेलनपछि भएको प्रगतिको पनि समीक्षा गर्ने प्रधानमन्त्री मोदीले बताएका छन् । साथै हिन्द प्रशान्त क्षेत्रमा आधारित भएर भविष्यमा हुनसक्ने संलग्नताबारे पनि छलफल गरिने उनले बताएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन र जापानी प्रधानमन्त्री योसिहिदे सुगासँगको भेटको क्रममा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समर्थनलाई निरन्तरता दिइने पनि उनले जानकारी दिएका छन् ।

यसका साथै उनी संयुक्त राष्ट्र महासभामा सहभागी हुनुहुने र कोभिड १९ महामारी, आतंकवादविरुद्ध लडाइँ, जलवायु परिवर्तन तथा अन्य महत्वपूर्ण मुद्दामामा छलफल हुने बुझिएको छ ।

यस भ्रमणबाट अमेरिकासँग भारतको व्यापक रणनीतिक साझेदारी सुदृढ हुने, भारतका रणनीतिक साझेदार जापान र अस्ट्रेलियासँग सम्बन्ध विस्तार हुने र महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा सहयोग विस्तार हुने प्रधानमन्त्री मोदीले बताएका छन् ।