महासभामा भाग लिन पुगेका स्वास्थ्यमन्त्री संक्रमित


वासिंगटन, (एजेन्सी) ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका ब्राजिलका स्वास्थ्य मन्त्री मार्सेलो क्वेरोगलाई कोभिड १९ संक्रमण भएको खबर बुधबार सार्वजनिक भएको छ । उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको कुरा मंगलबार राति पुष्टि गरेका थिए ।

त्यसको केही घन्टाअघि उनी ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोसँगै महासभामा पुगेका थिए । अमेरिकाको जो बाइडेन सरकारले गत साता उत्तर महासभामा विश्वका नेताहरूको जमघट कोरोना महामारी फैलाउने कारक तत्व बन्नसक्ने चेतावनी दिएको थियो ।

क्वेरोगले ट्विट गर्दै आफूले क्वारेन्टाइनमा बसेर स्वास्थ्यसम्बन्धी सम्पूर्ण नियम पालना गर्ने जानकारी दिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रीको हालत सन्तोषजनकै रहेको र यस महासभामा भाग लिन गएका ब्राजिलियन प्रतिनिधि मन्डलका सम्पूर्ण सदस्यको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ भएको जनाइएको छ । त्यसै गरी क्वेरोगले आफूले संयुक्त राष्ट्र संघका बैठकहरूमा मास्क लगाएर भाग लिएको सीएनएन ब्राजिललाई बताएका छन् । ब्राजिलमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमप्रति बोल्सोनारोको व्यापक आलोचना भएको थियो ।