डा. भक्तमान अपहरण काण्डका योजनाकार ११ वर्षपछि पक्राउ


काठमाडाैँ (नेस) ।

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण र फिरौती काण्डमा मुछिएका राजेन्द्रकुमार पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

११ वर्षअघि २०६७ साल जेठ ४ गते डा. श्रेष्ठलाई चितवनको हाकिमचोकस्थित हिमचुली विकास बैँक नजिकबाट अपहरण गरिएको थियो । डा. श्रेष्ठको अपहरणका अर्का योजनाकार रोहित पालिवाललाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । पण्डितले अपहरणमा परेका डा. श्रेष्ठलाई राख्ने घरको व्यवस्था गरेका थिए ।

१५/२० जनाको समूहमा आएका अपहरणकारीले श्रेष्ठलाई अपहरण गरेर १९ दिन बन्दक बनाएका थिए प्रहरीको लामो प्रयासपछि डा. श्रेष्ठलाई अपहरणमुक्त गराइएको थियो ।

अपहरणकारीलाई डा. श्रेष्ठको परिवारले ३ किलो ६ सय ग्राम सुन र १ करोड १० लाख बुझाएको थियो । अपहरणकारीले फिरौतीबापत सो परिमाणको सुन भारतको लखनउ नजिकैबाट असुलेको थियो । उक्त रकम बुझाएपछि अपहरणकारीले डा. श्रेष्ठलाई सकुशल मुक्त गरेको थियो ।

योजनाकार पण्डित भारतको विभिन्न ठाउंँमा बस्दै आएका थिए । उनी नेपाल र भारत आउ–जाउ गर्ने गरेको सुराक पाएको प्रहरीले लामो समयको निगरानीपछि नुवाकोट आएका बेला त्रिशूलीबाट पक्राउ गरेको हो ।

प्रहरीले पण्डितविरुद्ध पुनरावेदन अदालत हेटाैँडामा मुद्दा दायर गरेकोमा अदालतले दोषीहरुलाई ९ वर्ष जेल सजाय र ५० हजार जरिवाना गर्ने फैसला गरेको थियो । उक्त अपहरण काण्डपछि भागेर हिँडेका पण्डितकी श्रीमतीले समेत उनीसँग सम्वन्धविच्छेद गरेकी थिइन् ।