दल विभाजन अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक


काठमाडौं, (नेस) ।

दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।

जनता समाजवादी पार्टीले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा सहभागी नहुने बताएपछि सरकारले आज बिहीबारसम्म प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको महराले जानकारी दिनुभयो ।

उहाँले बिहीबार बस्ने संसद् बैठकमा उक्त प्रतिस्थापन विधेयक दर्ता हुने जानकारी दिनुभयो ।

सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।