‘नेपालमा संघीयता कार्यान्वयन प्रशंसनिय’: विश्व बैक उपाध्यक्ष

श्रोत बृद्धी र प्राविधिक क्षेत्रमा सहयोग गर्ने घोषणा



मोतीराम तिमल्सिना, काभ्रे । 

नेपालमा संघीयता कार्यान्वयन सम्वन्धी उच्च स्तरीय छलफल धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । विश्व बैकका दक्षिण एशियाका क्षेत्रिय उपाध्यक्ष हार्टविङ्ग सचफेरले उच्च स्तरीय बैठकमा सम्बोधन गर्नु भएको थियो । उहाँ लगायत छलफलमा विभिन्न देशका कन्ट्रि डाईरेक्टर, नेपालका तीन तहका सरकारका प्रतिनिधि सहभागि हुनुहुन्थ्यो ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले विश्व बैकका उपाध्यक्ष सहितको टोलीलाई स्वागत गर्दै ऐतिहासिक शहर धुलिखेलले संघीयता कार्यान्वयनमा गरेका अभ्यासका बारेमा जानकारी गराउनु भएको थियो । उच्च स्तरीय छलफलमा विश्व बैकका उपाध्यक्ष हार्टविङ्ग सचफेरले नेपालमा संघीयताको कार्यान्वयनको सफलतामा आफु खुशी भएको बताउँदै विश्व बैकले संघीयता कार्यान्वयनको चरणमा आवश्यक पर्ने विकास निर्माण तथा अन्य क्षेत्रमा साझोदारी, समन्वय र सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । ‘म दुई वर्ष अघि पनि धुलिखेल नगरपालिकामा आउने अवसर प्राप्त गरेको थिएँ । त्यतिबेला मैले यहाँका समुदायका नागरिकहरुलाई प्रत्यक्ष भेट्ने अवसर प्राप्त गरें जतिबेला भुकम्पले सबै नागरिकहरुको आवास भत्किएको थियो’–उपाध्यक्ष हार्टविङ्ग सचफेरले भन्नुभयो–‘दुई वर्ष अघि नेपाल आउँदा मैले हेलिकप्टर मार्फत केहि गाउँहरु नियाल्ने अवसर प्राप्त गरें । अहिले सबै घरहरुमा जस्ताको छाना र ढलान भएको रहेछ । म खुशी छु । नागरिकहरु विस्तारै सक्षम र समृद्ध बन्दैछन् । यसमा संघीयताको अभ्यासले महत्वपूर्ण भूमिका खेलेको छ ।’

छलफलमा धारणा राख्दै उपाध्यक्ष हार्टविङ्ग सचफेरले भन्नुभयो–‘म संघीयताको फ्यान हुँ । जर्मनमा पनि संघीयताको अभ्यास राम्रो छ । अहिले निर्वाचन भईरहेको छ । मैले मतदान गरें । नागरिक र सरकार बीचको समन्ध अत्यन्तै राम्रो छ । ‘नेपाली जनता सरसफाई, स्वच्छ खानेपानी, घर घर धारा, गुणस्तरीय शिक्षा, डिजिटल सुविधा चाहन्छन’– विश्व बैकका उपाध्यक्ष हार्टविङ्ग सचफेरले भन्नुभयो–‘बालबालिकाहरु सुविधासम्पन्न प्रविधि सहितको शिक्षा चाहन्छन । समग्रतामा विकासका आधारभुत आवश्यकता नेपालीहरुको चाहना हो ।’ ‘पाँच वर्ष अघि नेपाल र नेपालीको अवस्थामा ठुलो परिवर्तन भएको छ, विकासमा फड्को मारेको छ । नेपालको संघीयता कार्यान्वयन र प्रभावकारी ब्यवस्थापन प्रशंसनिय छ’–विश्व बैकका उपाध्यक्ष हार्टविङ्ग सचफेरले भन्नुभयो–‘संघीयता कार्यान्वयन सहज त छैन । केवल पाँच वर्षको सफलता प्रशंसनिय छ । समावेशिता, शशक्तिकरण र विकासको लागि संघियताको महत्व छ । नेपालमा प्राप्त नतिजाबाट सन्तुष्ट छौं ।’ ‘तीन तहमा भएको राजश्व संकलन, बजेट परिचालन, अर्थतन्त्रमा आएको सुधार सन्तोषजनक छ’–उहाँले भन्नुभयो–‘संघीयतालाई दीर्घकालिन रुपमा लैजानु पर्छ । विश्व बैकको सकारात्मक धारणा रहेको छ । कोभिड तथा भुकम्प जस्ता महाविपत्तिमा नेपाल र नेपालीहरुले खेलेको भूमिका र संघीयताको कार्यान्वयन नेपाली जनताले सहज महसुस गरेका छन् ।’ विश्व बैकको लगानी नेपालमा बढाउने योजनामा रहेको बताउँदै उहाँले केहि नीतिमा सुधार आवश्यक रहेको बताउनु भयो । विश्व बैक नेपालका लागि श्रोत बढाउन र प्राविधिक पक्षमा सहयोग गर्न तत्पर रहेको उपाध्यक्ष हार्टविङ्ग सचफेरले बताउनु भयो । अन्य मुलुकमा जस्तै नेपालमा पनि सहयोग गर्न विश्व बैक तयार रहेको बताउँदै उहाँले प्रदेश र स्थानीय तहलाई संघको सहयोग आवश्यक रहेको बताउनु भयो । विश्व बैक नेपाल सरकारलाई निरन्तर सहयोग गर्न तयार रहेको उहाँले घोषणा गर्नु भयो ।

उच्च स्तरीय छलफलमा नेपाल सरकारका सह सचिव एवं प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका निर्देशक, संघीयताका विज्ञ डा. गोपी खनालले संघीयता कार्यान्वयनमा नेपालले फड्को मारेको बताउँदै स्थानीय सरकारको क्षमता विकास आवश्यक भएकाले नेपालका तीनै तहमा पूर्वाधार निर्माणमा विश्व बैकले सहयोग बढाउन अनुरोध गर्नु भयो । नेपालका ३३ वटा स्थानीय तहमा विश्व बैकको लगानीमा आयोजनाहरु संचालन भईरहेको सह सचिव खनालले बताउनु भयो । अर्थ मन्त्रालयका उप सचिव प्रेम उपाध्यायले संघीयताको कार्यान्वयनसँगै तीनै तहका सरकारलाई एउटै सुत्र मार्फत सुशासन कायम राख्न सकिएको बताउनु भयो । एकिकृत सूचना प्रणाली जडान गरी पूर्वाधार निर्माण र बजेट कार्यान्वयनमा सहजता भएको उहाँले बताउनु भयो । संघीयताको अभ्याससँगै सफल कार्यान्वयनका लागि नेपालमा महत्वपूर्ण कार्यहरु भएको उप सचिव उपाध्यायाले बताउनु भयो ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले तीन तहका सरकार मध्ये स्थानीय तहका सरकार नागरिकहरुको दैनिक सेवामा कृयाशिल भएकाले संघीयताको सफल कार्यान्वयन भईरहेको बताउनु भयो । बालमैत्री नगर, एक घर एक घारा, कोभिड महामारीमा नागरिकहरुको सुरक्षा, गरिवी निवारणमा क्षमता अभिबृद्धी, नागरिकहरुको सेवामा डिजिटल प्रविधि, निशुल्क एम्बुलेन्स सेवा, परिषद्हरु गठन गरी नागरिकहरुलाई सेवा प्रवाह सहज बनाएको बताउनु भयो । हरिवन नगरपालिका प्रमुख गणेशप्रसाद प्रसाईले संघीयता कार्यान्वयनमा सहकार्य, एकता र जवाफदेहिता महत्वपूर्ण रहेको बताउनु भयो । दोलखा स्थित भिमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसीले नागरिकहरुको आधारभुत आवश्यकतामा स्थानीय सरकारले विशेष प्राथमिकताका साथ सेवा प्रवाह गरेकाले संघीयता महत्वपूर्ण रहेको बताउनु भयो ।

उच्च स्तरीय छलफल कार्यक्रममा नेपालमा विश्व बैकले गरिरहेको लगानीको प्रगति र आगामी दिनमा गर्ने योजनाका प्रारम्भि विषयमा पूर्वाधार मन्त्रालयका प्रतिनिधिहरुले जानकारी गराएका थिए । नेपालमा लगानी भएको रकम मध्ये केहि पूर्वाधारमा खर्च भएको छ । विश्व बैकले प्राविधिक र ब्यवस्थापकिय पक्षमा विश्वका विभिन्न देशमा बार्षिक ५० अरब डलर भन्दा धेरै खर्च गर्दै आएको छ कन्ट्रि डाईरेक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्