महिलाको हत्या आरोपमा एक भारतीय नागरिकसहित ४ पक्राउ


न्युज अफ नेपाल, भद्रपुर ।

धारिलो हतियार (दाउ) ले काटेर एक भारतीय महिलालाई टुक्रा–टुक्रा पारी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत विहार राज्य किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत निवासी २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका– १ निवासी ३७ वर्षीय लखन टुडु, सोही ठाउँका ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम र २७ वर्षीय श्री हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जनालाई बुधबार दिउँसो प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । घटनामा संलग्न मृतकका देवर किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५ वर्षीय मण्डल हेमरम भने फरार रहेको एसपी भट्टराईले जानकारी दिनुभयो ।

गत भदौ २५ दिउँसो साढे १२ बजे झापा गाउँपालिका १ स्थित सानो माई खोलामा नाम थर वतन नखुलेको एक महिलाको टाउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको शव फेला परेको थियो । घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि महिलाको पहिचानका लागि प्रहरी टोली परिचालन गरेको उहाँले बताउँनुभयो । शव भेटिएको ५ दिनपछि अर्थात् भदौ ३१ गते एक भारतीय महिलाको हत्या गरिएको कुरा प्रहरी समक्ष जानकारी आएको उहाँको भनाइ छ ।

हत्या गरिएका महिला झापा गाउँपालिका– १ माइती घर भई हाल किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५५ वर्षीय डोली भन्ने धोन्नी टुडु भन्ने पहिचान खुलेको एसपी भट्टराईले बताउँनुभयो । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्दै उनीहरूलाई पक्राउ गरिएको एसपी भट्टराईको भनाई छ । मृतक डोलीको सन्तान नभएको र उनको श्रीमानको १५ दिन अघि मात्र मृत्यु भएको थियो । मृतक महिलाको सौता रहेकोले सौताले विभिन्न आरोप लगाई हेला गर्ने गरेको र बोक्सीको आरोप लगाउँदै आएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

मृतक र उनका देवरसँग जग्गा सम्बन्धी घरायसी विवाद भएको उहाँको भनाइ छ । मृतक डोलीलाई अंशबन्डा नदिने योजना बनाएर हत्या गरिएको अनुसन्धानले देखाएको उहाँले बताउँनुभयो । घटनामा मृतक महिलाकी सौताकी भाइ लखन, भान्जा ऐतवार र देवर मण्डल प्रत्यक्ष संलग्न देखिएको उहाँले बताउँनुभयो ।

पक्राउ परेका चारै जनालाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।