भेटी उठ्न थालेपछि सन्तानेश्वर मन्दिरमा लफडा


नेपाल समाचारपत्र, बाँके । 

केही महिनादेखि बाँकेको नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर मन्दिर चर्चामा रहेको छ । यो मन्दिर चर्चामा आएको धेरै भएको छैन । वर्षौैंदेखि पूजा भइरहे पनि ४/५ महिनादेखि मात्रै सन्तानेश्वरको चर्चा चुलिएको हो ।

व्यापक प्रचारप्रसार भएपछि भक्तजन जान थालेका छन् । भगवान् शिवको मन्दिर भएकाले साउनमा धेरै भक्तजन सन्तानेश्वरमा पुगेका थिए । अहिले पनि सन्तानेश्वरमा भक्तजन गइरहेका छन् । ट्रयाकिङसँगै मन्दिरको दर्शन गर्न पाइने भएकाले भक्तजन जाने गरेका छन् । पहाडको माथिल्लो भागमा मन्दिर रहेको र बाँकेमा यस्ता मन्दिर धेरै नरहेकाले मन्दिर पूजाका साथै मन्दिर जान पनि रमाइलो हुने गरेको छ ।

विसं १९३५ मा यो ठाउँमा झण्डा गाडिएको थियो । २०७० सालमा आएर मन्दिर बनाइयो । मन्दिर बनेपछि शिवरात्रि, साउने सोमबारहरुमा भक्तजन पुग्ने गरेका थिए । केही महिनादेखि दैनिकजसो नै भक्तजन पुग्ने गरेका छन् । भक्तजनको घुँइचो लाग्न थालेपछि मन्दिर व्यवस्थापन समिति गठनको कुरा उठ्यो । साउनको हरेक सोमबार ४० हजार आसपासमा भेटी जम्मा भयो । अहिले पनि हप्तामा १५/२० हजार भेटी उठिरहेको छ ।

‘पैसा देखेपछि महादेवको तीन नेत्र’ भनेझैं मन्दिरमा धेरै भेटी संकलन हुन थालेपछि मन्दिर व्यवस्थापन समिति गठनमा लफडा भएको छ । गाउँपालिकाले मन्दिर मूल महन्त योगानन्द गिरीलगायतलाई बाइपास गरेर बृजेन्द्र यादवको संयोजकत्वमा मन्दिर व्यवस्थापन समिति बनाइएको छ । मूल महन्तलगायतले नीतीश मौर्यको संयोजकत्वमा अर्को समिति बनाइएको छ । एउटा मन्दिरको दुईवटा समिति गठन भएपछि विवाद जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जसम्म आइपुगेको छ । जिल्ला प्रशासन कार्यालयले कुन समितिलाई मान्यता दिन्छ हेर्न बाँकी रहेको छ ।

मूल महन्त योगीले पालिकाले आफूलाई नै बाइपास गरेर समिति बनाएको बताउनुभयो । ‘सबैलाई समेटेर समिति बनाउनुपथ्र्यो । हामीलाई नै बाइपास गरेर समिति बनाइएको छ । समितिमा गैरहिन्दू पनि राखिएको छ’, मूल महन्त गिरीले भन्नुभयो– ‘यस्तो गर्नु हुँदैन ।’

मन्दिर परिसरमा दिव्यदर्शी आश्रम रहेको छ । मूल महन्त गिरीलगायत त्यही बस्छन् । त्यहाँ पानीको ठूलो समस्या रहेको छ । पानीको समस्या समाधान गर्नतिर भन्दा आफूखुसी समिति बनाएर पैसा बटुल्नेतिर लागेको आश्रमसम्बद्धको भनाइ छ ।

यसैबीच, साइकल अभियान्ता एवं युवा नेता शतीश निरौलाले सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनका लागि १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । सन् २०२१ को कोराअन्तर्गत सय किलोमिटर साइकल चलाउने क्रममा अभियान्ता निरौलाले एक किलोमिटर साइकल चलाएको १ हजार स्पोन्सर गर्न आह्वान गर्नुभएको थियो । त्यो आह्वानमा कसैले एक किलोमिटर त कसैले १० किलोमिटरको स्पोन्सर गरेका थिए । १ हजारदेखि १० हजारसम्म सहयोग गरेका ५८ जनाबाट संकलन भएको १ लाख रुपियाँ निरौलाले मन्दिरका मूल महन्त गिरीलाई हस्तान्तरण गर्नुभएको छ ।

सन्तानेश्वर मन्दिरमा खानेपानीको अभाव रहेको छ । करिब एक किलोमिटर तल झरेर पानी लैजानुपर्छ । खानेपानीका लागि ठूलो समस्या देखेपछि आफूले कोराका बेलामा सहयोग अभियान थालेर सहयोग जुटाएको निरौलाले बताउनुभयो । कोरा भन्नाले साइकलमा धार्मिकस्थलहरुको परिक्रमा भन्ने बुझिन्छ । कोराअन्तर्गत निरौलाले नेपालगञ्जका मठ–मन्दिरको परिक्रमासँगै कोहलपुर, बर्दियाको बाँसगढीको केदारेश्वर धाम, सतखलवा, जब्दीघाट, गुलरियाको परिक्रमा गर्नुभएको थियो ।

सन्तानेश्वर मन्दिरको खानेपानी अभाव टार्न नेपालगञ्जको अम्बे फर्निचर उद्योगका सञ्चालक पंकज श्रेष्ठले १ हजार लिटर क्षमताको पानी ट्याङ्की दान गर्नुभएको छ । मूल महन्त योगीले अरू केहीले पनि सहयोग गर्ने प्रतिबद्धता गरेकाले त्यो र यो सहयोग रकम मिलाएर खानेपानीको समस्या समाधान गर्ने बताउनुभयो ।