जिल्ला सभापतिमा भट्टको उम्मेदवारी घोषणा


नेपाल समाचारपत्र, बैतडी ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि बैतडी जिल्ला सभापतिका लागि शिवराज भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ । दोगडाकेदार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो ।

कांग्रेसको केन्द्रमा संस्थापन तथा प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको पक्षबाट भट्टको प्यानल घोषणा गरिएको तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिनुभयो । भट्टले यसअघि पनि नेपाली कांग्रेस बैतडीको नेतृत्व सम्हालिसक्नुभएको छ । देउवा नेतृत्व नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदाको पनि उहाँ जिल्ला सभापति रहनुभएको थियो । भट्टको प्यानलबाट उपाध्यक्षमा वीरबहादुर विष्ट र हरिसिंह धामीले उम्मेदवारी घोषणा गर्नुभएको छ । विष्ट हाल जिल्ला सचिव र धामी सिगास गाउँपालिकाका अध्यक्ष रहनुभएको छ ।

यसै गरी, सचिव पदमा कर्ण बोहरा र रमेश भण्डारी रहनुभएको छ । बोहरा हाल जिल्ला सहसचिव र भण्डारी जिल्ला सदस्य रहनुभएको छ । सहसचिवमा तरुण बैतडीका अध्यक्ष घनश्याम भट्ट र जिल्ला सदस्य रहनुभएका रमेश कोलीले उम्मेदवारी घोषणा गर्नुभएको छ । कोषाध्यक्ष भने निर्वाचन सदस्यबाट चयन गरिनेछ, भने सदस्यहरुको नाम केही दिनमै टुंगो लगाइने जनाइएको छ ।

घोषणा कार्यक्रममा बोल्नुहुँदै सभापतिका उम्मेदवार भट्टले पार्टीलाई बलियो बनाउन र अगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताउनुभएको छ । कार्यक्रममा कांग्रेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्नुभएका प्रताप ठगुन्ना, पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच बैतडीमा संस्थापन पक्षका रूपमा रहेको सभापति नरेन्द्रसिंह थापा पक्षबाट भने हाल उपसभापति रहनुभएका चतुरबहादुर चन्दले सभापतिका लागि असोज ६ गते उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । पालिका अधिवेशन असोज ९, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १५ गते हुनेछ ।

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।