आदिवासीको आरोप : हाम्रो भूमिमाथि अतिक्रमण बढ्यो


नेपाल समाचारपत्र, भद्रपुर ।

झापामा आदिवासीहरुको भूमिमाथि तीव्ररूपमा अतिक्रमण बढिरहेकोे भन्दै त्यसप्रति नेपालका आदिवासीहरूको मानव अधिकारसम्बन्धी वकिल समूह लाहुर्निपले चासो व्यक्त गरेको छ । आदिवासीहरुले भोगचलन गर्दै आएको निजी वा सार्वजनिक जग्गामाथि अतिक्रमण गरी उनीहरुलाई विस्थापित गराउन खोजेको भन्दै लाहुर्निपले चासो राखेको हो ।

देवी गुठीलाई दान दिएको जग्गाबाट दाता डोमालाल राजवंशीका परिवारलाई उठीबास लगाउन खोज्ने षड्यन्त्रदेखि लिएर रेल्बे लाइनको नाममा आदिवासीलाई विस्थापित गराउने, बाह्रदशीमा इँटाभट्टाका कारण प्रभावित पार्ने, लखनपुरमा आदिवासी रंगशालालाई बजेट नछुट्याउने, काँकडभिट्टामा आदिवासीको समाधिस्थल भत्काउने, मेचीनगर–८ मा आदिवासीहरुको बसोबास भएको स्थानमा ल्यान्डफिल्ड साइट बनाउनेजस्ता घटनाले आदिवासीको बाँच्न पाउने अधिकार हनन भएको भन्दै त्यस्ता कार्य तत्काल रोक्न लाहुर्निपले सम्बन्धित पक्षलाई सचेत गराएको छ । लाहुर्निपले आदिवासीको भूमिसम्बन्धी अधिकारका बारेमा वकालत गर्दै आएको छ ।

विर्तामोड नगरपालिकास्थित अनारमनीमा रहेको दुर्गा मन्दिरलाई डोमालाल राजवंशीले दान दिएको १२ बिगाह जग्गा भूमाफियाहरुले अपचलन गरेको अवस्थामा ती भूमाफियाहरुबाट जग्गा फिर्ता गराई त्यस्तै अर्को समूहले हत्याएर डोमालाल राजवंशीको परिवारलाई आफ्नो जग्गाबाट उठीबास लगाउन खोजिरहेको षड्यन्त्रप्रति लाहुर्निपले गम्भीर चासो लिएको छ । संस्थाले कुनै पनि हालतमा डोमालालका सन्तानलाई उठाउन नहुनेमा जोड दिएको छ । डोमालालले दान दिएको जग्गा र भूमाफियाहरुबाट फिर्ता हुन लागेको विषयमा लाहुर्निपले कागजपत्र खोजी गर्ने लाहुर्निपका कोषाध्यक्ष तथा अधिवक्ता भीम राईले बताउनुभयो ।

त्यस्तै, रेल्वे लाइनको हल्लाका भरमा बिर्तामोड–३ सैनिकमोडका रङ्गलाल राजवंशी (भीम) को जग्गाजमिन सकिएको घटनाप्रति पनि चासो राखिएको छ । रेल्वे लाइन परेपछि जग्गा नबिक्ने अनि क्षतिपूर्ति पनि नपाइने भनेर त्रास देखाएपछि राजवंशी परिवारले आधाभन्दा बढी जग्गा बिक्री गरिसकेका छन् । ७ बिगाह जग्गा रहेको राजवंशी परिवार सैनिकमोड क्षेत्रकै धनी रहेका थिए । रेल्वे लाइन आउने हल्लाको पछि लागेर सस्तोमा जग्गा बेच्न बाध्य पारिएको रङ्गलालका छोरा भूपाल राजवंशीले बताउँनुभयो ।

राजवंशी परिवारलाई झुक्याएर जग्गा बिक्री गर्न लगाएकाले त्यसको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्नेमा जोड दिइएकोे महासंघका पूर्वजिल्ला अध्यक्ष प्रेम घिसिङले बताउनुभयो । त्यस्तै, बाह्रदशीमा खोलिएका इँटाभट्टाले आदिवासीलाई धेरै प्रभावित पारेको भन्दै अहिले इँटाभट्टा बन्द हुने अवस्थामा पुगेपछि प्रभाव कम भएको उहाँको भनाइ छ ।

लाहुर्निपले भदौ २९ र ३० गते बिर्तामोडमा, ३१ गते काँकडभिट्टामा र १ गते केर्खामा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । बिर्तामोडको कार्यक्रममा देवी गुठी, रेल्वे प्रभावित र इँटाभट्टा प्रभावितका विषयमा कुरा उठेको थियो भने काँकडभिट्टामा समाधिस्थल भत्काएको र आदिवासी बस्तीमा ल्यान्डफिल्ड साइट बनाएको घटनाको तीव्र बिरोध गरिएको थियो । त्यस्तै, केर्खाको कार्यक्रममा आदिवासी रङ्गशालाको विषयमा चर्चा गरिएको थियो ।