थाइल्यान्डमा ट्याक्सीमा खेती शुरू


बैंकक, (एजेन्सी)।

कोरोना भाइरस महामारीको कारण आफ्ना व्यवसाय ठप्पै भएपछि थाइल्यान्डका ट्याक्सी ड्राइभरहरूले आ – आफ्ना ट्याक्सीलाई ‘रुफटप गार्डेन’ मा परिणत गर्दै फूलका बोट र तरकारी रोप्न थालेका छन् । यसै सातामात्र दुईवटा ट्याक्सी कोअपरेटिभले बाँसको घेरा बनाई कालो प्लास्टिकको झोला प्रयोग गरी ट्याक्सीका छतलाई बगैंचाको स्वरूप दिएका हुन् । ती ड्राइभरहरूले आफ्नो ट्याक्सीमा गोलभेडा, काँक्रो र सिमी आदि बाली लगाउन थालेका छन् ।

ठूलो खुल्ला क्षेत्रमा पार्क गरिएका कारहरूमा यसरी खेती गरिएको दृश्य निकै आकर्षक र कलात्मक देखिन्छ । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि कडा लकडाउन गरेपछि नियमित कामबाट बन्चित हुन पुगेका ड्राइभर र कार व्यवसायीहरूको सरकारको धयानाकर्षण गर्ने तरिकाजस्तै पनि देखिएको छ ।

थाइल्यान्डका प्रमुख दुई ट्याक्सी सञ्चालक रात्चाप्रुक र बोभोर्नका ५ सय वटा कारमात्र अहिले बैंकका सडकमा दौडिरहेका छन् । तिनका अन्य २ हजार ५ सयवटा कार विभिन्न स्थानमा थन्किएको एउटा ट्याक्सी कोअपरेटिभका ५४ वर्षीय कार्यकारिणी प्रमुख थापाकोर्न आस्सावालेत्कु बताउँछन् ।

थापाकोर्नका अनुसार सडकहरू करिब–करिब सुनसान नै रहेकाले ड्राइभरहरूलाई दैनिक बुझाउन पर्ने रकममा पचास प्रतिशत कटौती गरिँदा हुन आउने ३ सय भाट तिर्न पनि धौ धौ परेको छ । उनले सरकारप्रति व्यङ्ग गर्न र आफ्ना कर्मचारीलाई खुवाउन पनि ट्याक्सीमा खेती शुरू गरिएको जानकारी दिएका छन् ।