दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन



धादिङ, (नेस) ।

वागमती प्रदेश सरकारले उपलब्ध गराएको अक्सिजन प्लान्टको धादिङमा एक कार्यक्रम गरी उत्पादन शुरु गरिएको छ । वागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटवालले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको थियो । सो प्लान्टबाट दैनिक ५५ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कटवालले आफू मन्त्री हुँदा सकेको जति सबै काम स्वास्थ्य क्षेत्रमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । स्वास्थ्य क्षेत्रका लागि धादिङको अस्पताल भवन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले पीसीआर मेसिन सञ्चालन ल्याउन र डाइलोसिस सेवा सञ्चालनका लागि प्रदेश सरकारले रकम पठाइसकेकाले सेवा शुरुआत गर्न धादिङ अस्पताललाई आग्रह गर्नुभएको छ ।

कार्यक्रममा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले हरेक दिन ५५ सिलिन्डर उत्पादन क्षमता भएकाले पहिलाजस्तो अक्सिजन अभाव झेलेर बिरामी रिफर गर्न नपर्ने बताउनुभएको थियो । अस्पताललाई प्रदेश सरकारले गुणस्तरीय सेवाका लागि निरन्तर सहयोग गरिरहन आग्रह गर्दै कोरोना महामारीमा ३ सय ८४ कोरोना बिरामीको उपचार गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, नेकपा एमालेका सचिव अर्जुन श्रेष्ठ गोर्खाली, नेपाली कांग्रेसका उपसभापति भक्त लामालगायतले अस्पतालमा राजनीति नगरी स्वास्थ्य सेवामा गुणस्तरीयताका लागि पहल गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्