सुडानमा सैनिक विद्रोह प्रयास असफल



खार्तुम, (एजेन्सी) ।

सुडान सरकारले मंगलबार सैनिक विद्रोेहको प्रयास असफल बनाएको दाबी गरेको छ । सकारी सञ्चार माध्यमले असफल सैनिक विद्रोह प्रयास भएको र जनताले त्यसको प्रतिकार गनुपर्ने जनाएको छ । राजधानी खार्तोम र नजिकको अर्को शहर ओमदर्मान्बाट प्राप्त खबरअनुसार सैनिक गतिविधि तीव्र भएको पाइएको छ र नाइल नदीको मुख्य पुल बन्द गरिएको छ ।

एएफपी समाचार निकायका अनुसार विद्रोहीहरूले सरकारी सञ्चार माध्यमको कार्यालय भवन नियन्त्रणमा लिने प्रयास गरेका थिए । सरकारले स्थिति नियन्त्रणमा प्रयास भइरहेको बताएको छ । सामाजिक सञ्जालमा शहरका सडकहरूमा सशस्त्र गाडीहरू गुडिरहेको भिडियो फुटेज राखिएका छन् । त्यसै गरी एएफपीले खार्तोमको मध्य भागमा मज्जाले सवारी साधन र मानिसहरूको आवत जावत भइरहेको जनाएको छ ।

अर्को अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सका अनुसार सैनिक प्रवक्ता मोहमद अल फाकी सुलेइमानले सैनिक विद्रोह कार्यमा संलग्न आशंकित व्यक्तिहरूमाथि चाँडै नै सोधपुछ शुरू हुँदैछ । दुई वर्षअघि सुडानमा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल –बासिरलाई अपदस्थ गरिएको थियो । शक्ति साझोदारी सम्झौताअनुसार त्यसपछि विरोधी समूह , सेना र नागरिक प्रतिनिधिहरू सम्मिलित सरकार खडा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्