उत्तर कोरियाद्वारा अकस सम्झौताको विरोध

1.13k
Shares

प्योङयाङ, (एजेन्सी) ।

उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र अस्ट्रेलियाबीचको नयाँ संयुक्त सुरक्षा सम्झौता अकसको विरोध गर्दै त्यसले ‘परमाणविक हातहतियार होडवाजी’ शुरू गर्न सक्ने प्रतिक्रिया दिएको छ । उत्तरकोरियाको विदेश मन्त्रलयद्वारा जारी गरिएको औपचारिक विज्ञप्तिमा यस अकस समझौताले एसिया – प्रशान्त क्षेत्रको सामरिक सन्तुलनमा विचलन ल्याउने चिन्ता व्यक्त गरिएको छ । यस सम्झौताअनुसार वेलायत र अमेरिकाले अस्ट्रेलियालाई पामाणविक ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने प्रविधि प्रदान गर्नेछन् ।

साउथ चाइना सी मा चीनको बढ्दो प्रभावलाई चुनौती दिने उद्देश्यले यो सम्झौताको घोषणा भएको हुनुपर्ने अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहको ठम्याइ रहेको छ । अकसको घोषणापछि यसअघि यस्ता पनडुब्बी बनाउनका लागि अस्ट्रेलियाले आफूसँग गरेको अर्बौं अमेरिकी डलर बराबरको सम्झौता ओझेलमा पने चिन्ताको कारण फ्रान्स आक्रोशित भएको छ ।

फलतः फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाइसकेको छ । गत साता घोषणा भएको अकस सम्झौताअन्तर्गत अस्ट्रेलियाले क्रुज क्षेप्यास्त्र, आर्टिफिसियल इन्टेलिजेन्स र अन्य प्रविधि सुविधा पनि पाउनेछ ।

उत्तर कोरियाले गत सातामात्र लामो दूरीका क्रुज र व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पनि अकस सम्झौताका कारण क्षेत्रीय शान्ति नराम्ररी डगमगिने तथा हतियार उत्पादन होडबाजी बढ्ने चिन्ता व्यक्त गरेका छन् ।