रेडपाण्डाको छालासहित एक पक्राउ


जाजरकोट, (नेस) ।

जाजरकोटमा रेडपाण्डा हाब्रेको दुईवटा छालासहित एक जना पक्राउ परेका छन् । बारेकोट गाउँपालिका ५ नायकबाडाका १९ वर्षीय लोकेश परियारलाई रेडपाण्डाको छालासहित नलगाड नगरपालिका ५ कालिमाटी बजारको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

बिक्री बितरणको लागि रेडपाण्डा हाब्रेको छाला ल्याएर आएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले छालासहित नलगाड नगरपालिका ५ कालिमाटी बजारस्थित होटलबाट आइतबार दिउँसो ४ बजे लोकेश परियारलाई पक्राउ गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

रेडपाण्डाको छालासहित हिँडेको जानकारी पाएपछि प्रहरी टोली उनी बसेको होटलको कोठामा पुगी होटल खानतलासी गर्ने क्रममा माथिल्लो तलाको २ नम्बर कोठामा लोकेश र निजको साथमा रहेको झोला फेला पारी नियमपूर्वक खानतलासी गर्ने क्रममा रेडपाण्डा हाब्रेको ४२ इन्च लम्बाइ भएको ठूलो छाला १ र टाउको नभएको २२ इन्च लम्बाइ भएको सानो छाला १ उनको साथबाट बरामद गरी लोकेशलाई प्रहरीले पक्राउ गरेको हो ।

किन र केका लागि ल्याएका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधु कुमार थापाले बताउनुभयो । प्रहरी प्रमुख थापाका अनुसार उनीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय जाजरकोटसँग समन्वय भइरहेको प्रहरी प्रमुख थापाको भनाइ छ ।