सीमामा १ सय ६० सिसी क्यामेरा जडान


काठमाडौं, (नेस) ।

सीमा नाकामा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले प्रविधिको प्रयोगलाई बढाएको छ । सीमा नाकामा वोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेर सीमा सुरक्षाको काम गर्दै आएको सशस्त्र प्रहरी बलले सीमाका मुख्य नाकामा प्रविधिको प्रयोगलाई बढाएको हो ।

नेपालको सीमालाई सुरक्षित बनाउन सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा नाकाको सय स्थानमा सीसी क्यामेरा जडान गरेको छ । जनशक्तिसँगै प्रविधिको प्रयोग बढाउने मुख्य उद्देश्य लिएको सशस्त्र प्रहरीले थप ४ सय ६० स्थानमा प्रविधिको प्रयोग गर्नुपर्ने लक्ष्य लिएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र चोरीपैठारी रोक्न प्रविधिको प्रयोग बढाउने नीति लिनुभएको थियो । उहाँले नेतृत्व सम्हालेको यस अवधिमा १ सय ६० प्रविधिको प्रयोग बढाउन सफल हुनुभएको छ ।

सशस्त्र प्रहरीले मोरङको जोगबनी, पर्साको वीरगञ्ज, कपिलवस्तुको चकरछाउडा, रौतहटको गौर, महोत्तरीको जलेश्वर, सिरहाको मरदर, रूपन्देहीको बलैया, कैलालीको त्रिनगर, बाँकेको जमुना नाका लगायतको स्थानमा सीसी क्यामेरा जडान गरेको छ । सीमा नाकाहरूमा जडान भएका सिसी क्यामेराको सम्बन्धित बीओपीबाटै सुपरभिजन गर्ने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले सीमा नाकामा हुन सक्ने सम्भावित अपराधिक गतिविधि र चोरी पैठारी रोक्नका लागि प्रविधिको प्रयोग बढाउँदै लगिएको बताउनुभयो । उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो – ‘सीमालाई सुरक्षित बनाउन र सम्भावित अपराधिक गतिविधि हुनबाट रोक्न प्रविधिको प्रयोग अनिवार्य हुन्छ ।’

प्रत्येक वर्ष सीसी क्यामेरा जडानको कामलाई निरन्तरता दिँदै लैजाने योजना रहेको बताउँदै प्रवक्ता अर्यालले चालु आर्थिक वर्षमा पनि प्रविधि जडानको कामलाई निरन्तरता दिइने बताउनभुयो ।