अमेरिका र अस्ट्रेलियाले झुठो बोले : विदेशमन्त्री ड्रियान


पेरिस,(एजेन्सी) । 

फ्रान्सका विदेशमन्त्री जिन–भेस लि ड्रियानले आइतबार अस्ट्रेलिया र अमेरिकाले नयाँ सुरक्षा सम्झौता अकसलाई लिएर झुठो बोलेको आरोप लगाउनुका साथै पेरिसले सोही कारण ती मुलुकबाट आफ्ना राजदूतहरू फिर्ता बोलाउनुपरेको बताएका छन् ।

फ्रान्स २ टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले ती मुलुकले जालसाजी गरेको , ठूलै विश्वासघात र घृणित काम गरेको बताएका छन् । यस अकस नामक सम्झौताअन्तर्गत संयुक्त राज्य अमेरिकाले अस्ट्रेलियालाई पारमाणविक ऊर्जाबाट चल्ने पनडुब्बी निर्माणका लागि आवश्यक प्रविधि उपलब्ध गराउने भएको छ ।

यस सम्झौताको कारण यसअघि पनडुब्बी निर्माणलाई नै लिएर फ्रान्स र अस्ट्रेलयबीच भएको अर्बौं अमेरिकी डलर बराबरको सम्झौता अलपत्र पर्ने स्थिति आएको छ । गत साता संयुक्त अधिराज्यसमेत सम्मिलित यो सम्झौता घोषणा हुनु केही घन्टाअघि मात्र फ्रान्सलाई त्यस सम्बन्धमा जानकारी गराइएको थियो । विदेशमन्त्री ड्रियानले यस सम्झौतामाथि पुनर्मूल्यांकन गर्ने उद्देश्यले ती राजदूतलाई स्वदेश फिर्ता बोलाइएको बताएका छन् । साथै, उनले आफ्नो अन्तर्राष्ट्रिय गठबन्धनबीच तनाव चर्किंदै गएको जानकारी दिएका छन् ।