उद्धार गरिएका युवकको मृत्यु

294
Shares

बैतडी ।

सवारी दुर्घटनामा परी घाइते भएका पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारका क्रममा आज मृत्यु भएको छ । जोशीको काठमाडौँको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनभयो ।

जोशीले चलाइरहेको भे ७ प ४३४५ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ ज ६३४ नं को जीप गएको बुधबार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ बेडौतीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीलाई सोही दिन विमान चार्टर्ड गरी नेपालगञ्ज रेफर गरिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा शनिबार काठमाडौँ रेफर गरिएको थियो । सोही दुर्घटनामा परी जोशीसँगै मोटरसाइकलमा सवार ७३ वर्षीय अन्तराम पन्त र जीप चालक पाटन– १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए ।

उनीहरु दुवै जना उपचारपछि निको भइसकेका छन् । जीप सवार सोही जीपका साहुु ३४ प्रदीप सिंह सिनाल भने सकुशल छन् । जोशीको मृत्यु भएपश्चात जिप चालक भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साँघुरो सडकमा द्रुत गतिमा सवारी हाँक्दा दुर्घटना भएको हो ।