मुगुको जिल्ला आँखा उपचार केन्द्रमा औषधि र चस्माको अभाव

672
Shares

न्युज अफ नेपाल, मुगु ।

मुगु सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा औषधि र चस्माको अभाव भएको छ । विगत दुई महिनादेखि उपचार केन्द्रमा औषधि र चस्माको अभाव भएको हो । औषधि अभाव हुँदा आँखाका बिरामी निजी मेडिकलहरुमा चर्को मूल्य तिरेर औषधि उपचार गर्न बाध्य भएका छन् ।

विगत दुई महिनादेखि औषधि, चस्मा लगायत अन्य सामग्रीहरु जिल्लामा अभाव हुँदा आँखा उपचार लगायत अन्य नाक कानको उपचारमा पनि प्रभावित भएको छ । यस्तो समस्यालाई पुर्ति गर्न जिल्ला आँखा उपचार केन्द्र मुगुले हिमालय आँखा अस्पताल घारी पाटन पोखरालाई आवश्यक औषधि र चस्मा माग गरिएको छ ।

दुई महिना बिति सक्दा पनि हालसम्म अस्पतालले औषधि अभावको मागलाई सम्बोधन नगरेको जिल्ला आँखा उपचार केन्द्र मुगुका इन्चार्ज धुव्र बुढ्थापाले बताए । उनका अनुसार आँखा उपचार केन्द्रमा औषधि अभाव भएको छ । बिरामीहरु दिन प्रतिदिन बढ्दो क्रममा रहेका छन । औषधि छैन । चस्मा पनि छैन बिरामीहरु रित्तो हात लिएर घर फर्कने गरेको उनको भनाई छ ।

पछिल्लो समय बिरामिहरुको चाप पनि उत्तिकै लाग्ने गरेको छ । ‘थाम्नै सकिन्न । औषधि माग्छन छैन, आँखा बिरामीको प्रकार हेरेर चश्मा माग्छन् त्यो पनि छैन । आज भोलि बिरामीले धेरै सास्ती खेप्नु परेको छ’ बुढ्थापाले भने विगतका दिनहरुमा सेवाग्राही सहजै रुपमा सेवा पाउँथे। उपचार पनि भने जतिकै हुन्थ्यो ।

तर दुई महिनादेखि उपचार केन्द्रमा औषधि, चस्मा अभाव हुँदा उपचारमा प्रयोग हुने उपकरणहरु पनि प्रयोग बनेका छन् । जिल्लामा औषधि अभाव सुरु भए पछि छिटो उपलब्ध गराउन कार्यालयले आग्रह गरेको छ ।

पछिल्लो समय आँखा उपचार केन्द्रमा मुगुका मात्र नभई छिमेकि जिल्ला जुम्ला, हुम्लाका नागरिक पनि सेवा लिन आउने गरेका छन् । उनीहरु दुई तिन दिनको पैदल यात्रा गरेर मुगुमा सेवा लिन आउँछन । तर पाउनु पर्ने सेवा पाउदैनन् । समस्या र बिरामी भएर आएका उनीहरु उपचार नपाई फर्किदा निराश हुने गरेको पनि कार्यालयले जानकारी दिएको छ ।