४० प्रतिशत नागरिकलाई कोरोना खोप


अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा लक्षीत समुह मध्ये ४० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार गरेको वार्षिक समीक्षा कार्यक्रममा यो जानकारी दिएको हो । समिक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पहिलो खोपको मात्रा नौ हजार चार सय ३७ जनालाई लगाइएको छ भने आठ हजार नौ सय ६२ जनालाई पूर्ण खोप लगाइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा गरेको कामको समेत समीक्षा गरेको छ । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जनताको स्वास्थ्यमा कुनै किसिमको खेलवाड नगर्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा ठूलो कुरा भएको भन्दै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन के गर्नुपर्छ, शाखाले योजना बनाउनुस्, म जस्तो सुकै सहयोग गर्न पनि तयार छु ।’

उहाँले प्रदेश तथा केन्द्रका योजनाहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र अधिकतम सेवामा लाग्न पनि कर्मचारीहरुलाई आग्रह गर्नुभयो । स्थानीय सरकारबाट थप बजेट विनियोजन गरेर भए पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्न आफु प्रतिबद्व रहेको उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले सुत्केरी महिला तथा बाल बालिकाको स्वास्थ्यमा बढि चासो दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्वास्थ्य सेवालाई पालिकाको कुना कुनामा रहेका जनतासम्म पु¥याउनुपर्ने बताउनुभयो । सरकारले तोकेका निशुल्क औषधीहरु वितरण तथा अन्य समस्यामा परेका विरामीहरुको उपचारका लागि क्रियाशिल रहन उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माले भएका स्रोत साधनको उचित प्रयोग गर्ने र थप स्रोत साधनको खोजीमा क्रियाशिल हुने कार्यमा जुट्नुपर्ने बताउनुभयो ।

गल्याङ नगरपालिका युवा तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्यले किशोर किशोरी र विद्यार्थी माझ स्वास्थ्य जनचेतनाका कार्यक्रमहरु जोडेर ल्याउनुपर्ने बताउनुभयो । गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाले अघिल्लो आर्थिक वर्षमा भन्दा यस वर्ष स्वास्थ्यका कार्यक्रममा सुधार भएको बताउनुभयो ।

नगरपालिका स्वास्थ्य शाखाले गरेको प्रगति विवरण पेश गर्दै तुलसीराम बरालले स्वास्थ्यका धेरै क्षेत्रमा सुधार गरिए पनि अझै तालिम र दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो । कार्यक्रम सञ्चालन गर्नुभएका सिनियर अहेब विपिन कोइरालाले नगरपालिका भित्रका स्वास्थ्य संस्थासँग समन्वय गरी अधिकतम सेवा दिन लागि परेको बताउनुभयो ।

वार्षिक समिक्षामा कोरोना भाइरस (कोभिड १९) को दोश्रो भेरियण्टका कारण नगरपालिकामा ४३ जनाको निधन भएको जानकारी दिइएको छ । नगरपालिकामा ३१ जना पुरुष र १२ जना महिलाको निधन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर ३ मा १३ जना र दोश्रोमा वडा नम्बर ११ मा १० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।