कांग्रेस महाधिवेशन : महिला सहभागिता बढ्दा उम्मेद्वारी शून्य


न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि मकवानपुरमा भर्खर वडास्तरको अधिवेशन भएको छ । १ सय २ वटै वडामा अधिवेशन सम्पन्न भए ।

पार्टी संरचनामा महिला खुला प्रतिस्पर्धामा उत्रनुपर्ने आवाज उठेका कारण यसपालि वडाको प्रतिनिधि बुथमा महिला सहभागिता निकै बढ्यो । जिल्लामा अधिवेशनबाट १ हजार ७ सय ७९ जना निर्वाचित भएका छन् ।

कांग्रेस जिल्ला निर्वाचन अधिकृतको सचिवालयले जनाएअनुसार क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष खुलामा ६ सय १९ जना, प्रत्यक्ष महिलामा ३ सय ४, खसआर्य महिलामा ४९ जना, खसआर्य खुलामा १ सय ८३ जना, आदिवासी जनजाति खुलामा २ सय ५४ जना, दलितमा ७८ जना, अपांगता, अल्पसंख्यक र तेस्रोलिंगी गरी ५५ जना, मुस्लिम १० जना, मधेशी २२ जना र थारु ३ जना निर्वाचित भएका छन् ।

उक्त तथ्यांकले महिला सहभागिता बढाएको छ । तर, नेतृत्व लिने ठाउँमा भने झण्डै शून्यकै अवस्थामा देखिन्छ । भीमफेदी गाउँपालिका वडा–२ की सानु थापामात्र वडा सभापतिमा निर्वाचित हुनुभएको छ । कांग्रेसको ४ वटा चुनाब बाँकी रहँदा पार्टीका नेतृहरुले पदाधिकारीमा खुलेर नाम दिन सकेका छैनन् । जिल्लामा १ महिलाले मात्र पदाधिकारीमा नाम खुलाउनुभएको छ । उहाँ कांग्रेसकी जिल्ला सदस्य इन्दिरा न्यौपाने हुनुहुन्छ ।

नेपाली कांग्रेसकी जिल्ला कार्यसमिति सदस्य न्यौपानेले लामो समयदेखि पार्टीमा सक्रिय सहभागिता जनाएका कारण महिला भएकै कारण अब कोटामा सीमित नरहने दाबी गर्नुभयो । महिला विभाग केन्द्रीय सदस्य बनिसक्नुभएकी न्यौपाने भन्नुहुन्छ–महिलालाई हालसम्म पदाधिकारी उठाउने निधो कसैले गरेनन् । अब आफैं लाग्नुपर्छ भन्ने लाग्यो । पदाधिकारीमा महिला उठ्दैनन् भन्ने मानसिकता तोड्न आफू लड्ने न्यौपानेले दाबी गर्नुभयो । ‘पुरुषभन्दा कम छैनौं भनेर भाषण ठोक्दै गर्दा प्रत्यक्षरुपमा पुरुषसँग लड्न नसक्ने हामी रु,’ उहाँले भन्नुभयो ।

कांग्रेस नेतृ अञ्जना उपाध्याय महाधिवेशन प्रतिनिधिमा मात्र सीमित रहने देखिनुहुन्छ । तरुण जिल्ला सदस्य र हेटौंडाकी क्षेत्रीय बुथ प्रतिनिधि रहनुभएकी उपाध्याय क्षेत्र–१ को महाधिवेशन प्रतिनिधि रहने योजना रहेको बताउनुहुन्छ ।

केन्द्रीय महिला विभाग सदस्य, ट्रेड युनियन जिल्ला उपाध्यक्ष र हेटौंडाा–१० की क्षेत्रीय प्रतिनिधि शर्मिला श्रेष्ठ पदाधिकारीको आकांक्षी हुनुहुन्छ । तर, कुन पदमा उठ्ने भन्ने निक्र्यौल गरिनसकेको उहाँ बताउनुहुन्छ । ‘चाहना त सबैको हुन्छ । तर, महिला नेतृहरुबीच छलफल हुनुपर्छ ।

समग्रमा नेतृत्वमा धेरै महिला पुग्नेतर्फ ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । पदाधिकारीमा महिलाका लागि सुनिश्चित पद हो । समावेशीका ८ क्लस्टरमध्ये महिला क्लस्टर छ । त्यसैले अधिकांशले यही कोटामा उठ्ने मनस्थिति बनाएका छन् । यद्यपि, आकांक्षी भनिएका र पदाधिकारीमा उठ्न योग्यता पुगेको मानिने महिला नेताहरुबीच यसबारे छलफल नहुँदा कतिपय अन्योलमा देखिन्छन् भने जिल्लामा एकजनाले मात्र पदाधिकारीमा खुलेर नाम घोषणा गरेका छन् ।

वडाकोे प्रतिनिधि बुथमा महिलाको अनिवार्य उपस्थित गरिएको नेपाली कांग्रेस मकवानपुर प्रवक्ता प्रदीप कोइरालाले जानकारी गराउनुभयो । महिलालाई उसै पनि राजनीतिमा आउन गाह्रो छ । त्यसमाथि महिलालाई परिवेश मिलाएर आउनुपर्ने हुँदा पदाधिकारीमा हालसम्म महिलाको घोषणा भएको हुननसक्ने उहाँको अनुमान छ ।

नेपाली कांग्रेसको महाधिवेशनका लागि भदौ २० गते मकवानपुरमा वडा अधिवेशन सकिएको छ । चार तहको चुनाब बाँकी नै छ । पालिकाको असोज ९ गते, प्रदेशको ११ गते, क्षेत्रीयको १३ गते र जिल्लाको १६ गते चुनाब हुने तालिका छ ।