संखुवासभा हत्या प्रकरण: घटना अझै शंकास्पद, मुख्य आरोपीका भाइ प्रहरी नियन्त्रणमा


न्युज अफ नेपाल, काठमाडौँ ।

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यस अघिनै पक्राउ गरेका मुख्य आरोपी २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार घटना घटिरहँदा नरेश पनि नजिकै रहेको हुनसक्ने आशंका देखिएपछि उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

मृतक ६ जनामध्ये एक जनाको मोबाइल लोकबहादूरको घरमा भेटिए पनि अर्को मोबाइल भने हालसम्म भेटिएको छैन । घटनास्थलमा फेला नपरेको उक्त मोबाइल सेट नरेशले लुकाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

गत २१ भदौमा लोकबहादूरले ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको चिर्पट प्रहार गरी हत्या गरेका थिए । प्रहरीले घटनाका मुख्य आरोपी लोकबहादूरलाई सार्वजनिक गरिसकेको छ ।