स्क्रब टाइफसको जोखिम उच्च


विनोदसिंह विष्ट, बैतडी ।

पछिल्लो समय बैतडीमा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरीश पन्तले जानकारी दिनुभयो । विगतकावर्षमाफाट्टफुट्टमात्र देखिएपनि यो वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । ‘वर्षायामको शुरुबाटै बिरामीको संख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।’ –उहाँले भन्नुभयो ।

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताउनुभयो ।

जिल्ला अस्पतालमा बढीजसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १ सय बिरामी उपचारका लागि आउने गरेकोमा ५० जना भाइरल ज्वरोका बिरामी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनुभयो । ‘अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा क्रब टाइफसको परीक्षण गरिरहेका छ’, उहाँले भन्नुभयो, ‘केही स्क्रब टाइफसका बिरामीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था रहेको छ ।’

वर्षात्मा पानीका मुहानहरू सफा नहुँदा पानीजन्य रोगहरू देखापर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो समयमा किर्नालगायतका कीराहरूले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामीहरू पनि देखिने गरेका अस्पतालका प्रमुख डाक्टर जोशीले बताउनुभयो । ‘पशुचौपायाहरु घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौं ।’ –उहाँले भन्नुभयो ।

कोभिड–१९ सँग मिल्दोजुल्दो

नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहन अनुरोध गरेको छ ।

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखाला लाग्नु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण र कहिलेकाहीं बहुअंगविकार (मल्टी अर्गन डिल्फसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ ।

के हो ‘स्क्रब टाइफस’

स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीर रूप लिन सक्ने स्वास्थ्यकमीँले बताएका छन् ।

बच्ने उपाय

किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वन–जंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।