रूसी राष्ट्रपति पुटिन सेल्फ आइसोलेनमा बस्दै


मस्को,(एजेन्सी) ।

आफ्नो भित्री समूहका व्यक्तिहरू कोरोना भाइरस संक्रमित भएपछि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सेल्फ आइसोलेसनमा बसेको मंगलबार क्रेमलिनले जनाएको छ । साथै स्वास्थ्य परीक्षणपछि उनको कोभिड १९ नगेटिभ आएको पनि बताइएको छ ।

रसियामै निर्मित स्पुतनिक भी खोपको पूर्ण डोज लिइसकेका पुटिनले सोमबार थुप्रै सार्वजनिक इन्डोर कार्यक्रममा भाग लिएका थिए । त्यतिबेला नै उनले आफू छिटै नै क्वारेन्टाइनमा बस्नुपर्ने हुनसक्ने पनि बताएका थिए । पुटिनका एक सहयोगीले उनले कसैको स्वास्थ्यलाई खतरामा पार्न नहुने बताएको जानकारी दिएका छन् ।

नियमित पत्रकार सम्मेलनमा क्रेमलिनका प्रवक्ता दिकित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन्, ‘६८ वर्षीय पुटिन पूर्णतया स्वस्थ छन् । तर, उनी केही भाइरस संक्रमित व्यक्तिहरूको सम्पर्कमा आएका छन् ।’ तर पेस्कोभले पुटिन कहिलेदेखि सेल्फ आइसोलेसनमा बस्ने, उनको मेडिकल रिपोर्ट कहिले नेगेटिभ आयो, उनी कति समय सेल्भ आइसोलेसनमा बस्न लागेको र पुटिनको सम्पर्कमा रहेका कसलाई कोरोना संक्रमण भएको हो भन्नेबारे केही पनि बताएको छैन ।

सरकारी अधिकारीहरू र सत्तारूढ युनाइटेड रसिया पार्टीका सदस्यहरूसँग भिडियो कन्फरेन्स गर्दै पुटिनले आफ्नो भित्री सर्कलका धेरैलाई कोभिड १९ संक्रमण भएको र सोमबार दिनभरिजसो आफ्नो सम्पर्कमा रहेका एकजना कर्मचारी पनि संक्रमित भएको जानकारी दिएका छन् ।