तालिवान नेताहरूबीच ठूलो विवाद शुरू


काबुल,(एजेन्सी) ।

अफगानिस्तानमा नयाँ सरकार गठन भएको केही दिनपछि नै इस्लामिक तालिवान नेताहरूबीच ठूलो विवाद शुरू भएको बुधबार वरिष्ठ तालिवान अधिकारीहरूले बीबीसीलाई बताएका छन् । राजधानी काबुलस्थित राष्ट्रपति भवनमा दुई विपक्षी समूहका समर्थकहरूबीच खिचातानी भएको खबर सार्वजनिक भएको छ । तिनीहरूबीच संयुक्त राज्य अमेरिकामाथि विजय हासिल गर्नमा कसले बढी योगदान दिए र नयाँ मन्त्रीमन्डलमा कसरी शक्ति विभाजन भए भन्नेबारे विवाद शुरू भएको हो ।

तर, तालिवानले भने औपचारिक रूपमै आफूहरूबीच यस्तो कुने विवाद नभएको स्पष्ट पारेको छ । अमेरिकी नेतृतवमा रहेको अन्तर्राष्ट्रिय गठबन्धन फौजले अफगान भूमि छाडेपछि यता महिना सम्पूर्ण अफगानिस्तानमा कब्जा गरेका तालिवानले मुलुकलाई ‘इस्लामिक इमिरेट’ घोषणा गरेको थियो । केवल पुरुषहरूलाई मात्र सहभागी गराइएको तिनीहरूको अन्तरिम सरकारमा विगत दुई दशकभित्र अमेरिकी फौजविरुद्ध डरलाग्दो आक्रमणमा संलग्न वरिष्ठ तालिावन व्यक्तित्वहरू रहेका छन् । केही दिनदेखि तालिवानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बारादर सार्वजनिक नभएको अवस्थामा अचानक यसरी आन्तरिक कलह शुरू भएको हो । बारादर शरणार्थी मन्त्री तथा हक्कानी लडाकु सञ्जालका प्रभावशाली व्यक्तित्व खलिल उर – रहमान हक्कानीबीच निकै चर्काचर्की परेको एउटा तालिवान सूत्रले बीबीसी पास्तोलाई जानकारी दिएको छ ।