बौद्धबाट १४ रोहिंग्या शरणार्थी पक्राउ


काठमाडौं, (नेस) ।

नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडांैको बौद्धबाट पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताउनुभयो । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’

प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा सीमानाकाबाट नेपाल प्रवेश गरेको आशंकामा दलालको समेत खोजी गरिरहेको बताएको छ । प्रहरीका अनुसार उनीहरू शरणार्थीका रूपमा बस्ने योजनाका साथ नेपाल आएको देखिन्छ । हाल काठमाडौंको कपनमा ३ सय ६५ जनाको हाराहारीमा रोहिंग्या शरणार्थी बस्दै आएका छन् ।

म्यानमारका रोहिंग्या सन् २०१२ देखि नै नेपाल भित्रन थालेका हुन् । म्यानमारमा रोहिंग्या मुसलमानमाथि सैनिक दमन शुरू भएपछि उनीहरू त्यहाँबाट भागेर बंगलादेशमा थिए । हाल बंगलादेशमा ७ लाखभन्दा बढीको संख्यामा रोहिंग्या शरणार्थीका रूपमा रहेका छन् । तर, बंगलादेशमा अधिक संख्याका कारण बस्न कठिनाइ भएपछि उनीहरू विस्तारै भारत पसेका हुन् । कामको खोजीमा ती रोहिंग्या नेपाल छिर्ने गरेका हुन् ।

पछिल्लोपटक सन् २०१७ को अगस्टमा म्यानमारको रोहिंग्या मुसलमानको बाहुल्यता रहेको रखाइन प्रान्तमा हिंसा भड्किएपछि करिब ७ लाख रोहिंग्या म्यानमारबाट भागेर बंगलादेश पुगेका थिए । बंगलादेशमा बस्ने स्थिति नभएपछि भारत हुँदै केही रोहिंग्या नेपाल पनि छिरेका थिए ।