कांग्रेस महाधिवेशन : थप ७ जिल्लाको सूची सार्वजनिक, १३ को बाँकी


रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेसले थप सात जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । वडा अधिवेशन रोकिएको २० जिल्लामध्ये १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न बाँकी छ ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको जारी वडा अधिवेशन २० जिल्लामा रोकिएको थियो । यी जिल्लामा असोज ५ गते वडा अधिवेशन गर्ने तय गरिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार बुधबार साँझ काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बाजुरा, मोरङ र बर्दिया जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको हो ।

क्रियाशील सदस्य सार्वजनिक भएको सात जिल्लामा आज बिहीबार जिल्ला निर्वाचन अधिकृत खटाउने निर्वाचन समितिका संयोजक यादवले जानकारी दिनुभएको छ । बाँकी १३ जिल्लामध्ये प्रदेश २ को केही जिल्लाको सूची प्राप्त भए पनि निर्वाचन समितिले सार्वजनिक गरेको छैन । संयोजक यादवका अनुसार प्रदेश २ को आठवटै जिल्लाको सूची प्राप्त भएपछि एकैपटक प्रकाशित गर्ने भनी निर्वाचन समितिले पार्टीलाई जानकारी गराएको छ ।

मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्न लागेको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । क्रियाशील सदस्यता विवादका कारण एकैपटक वडा अधिवेशन गर्न नसकेको कांग्रेसले गाउँ÷नगरपालिका अधिवेशन सबै जिल्लामा असोज ९ गते एकैपटक गर्ने कार्यतालिका बनाएको छ ।

अधिवेशन कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते तोकिएको छ । तल्लो तहको अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते गर्ने मिति तय भएको छ ।

पछिल्लोपटक संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन गर्ने मिति नजिकिएसँगै बाँकी १३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न दबाब बढेको छ । यो दबाबसँगै क्रियाशील विवाद टुंग्याउन रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समिति र कृष्णप्रसाद सिटौलाको नेतृत्वमा रहेको कार्यदल दैनिक छलफलमा जुटेका छन् ।