हिमालय टाइम्स सम्मानित

686
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले हिमालय टाइम्स दैनिकलाई सम्मान गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बुधबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी हिमालय टाइम्सलाई सम्मान गरेको हो । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको पन्ध्रौ राष्ट्रिय दिवस २०७८ का अवसरमा गत २० गते यो सम्मान तथा पुरस्कार घोषणा गरिएको थियो ।

बुधबार राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहको प्रमुख आतिथ्यता र मन्त्रालयका सचिव यामकुमारी खतिवडा (बास्कोटा)को आतिथ्यतामा भएको कार्यक्रममा सम्मानपत्र, दोसल्ला र माला अर्पण गरिएको थियो । हिमालय टाइम्सका सन्दीप पौड्याल र कृष्ण भुसालले सो सम्मान ग्रहण गर्नुभएको थियो ।

मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा लेख, रचनाहरू, तथा अन्य समाचार सामाग्रीहरू प्रकाशन गरी सचेतना बढाउने काम गरेको भन्दै हिमालय टाइम्सालाई सोे सम्मान प्रदान गरिएको हो । सोही अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरी योगदान पु-याउनुभएका अन्य व्यक्ति तथा संस्थाहरूलाई समेत पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सम्मानित तथा पुरस्कृत हुनेहरूमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षक श्रीराम थापा, पत्रकार ज्योति कटुवाल, कुमार यात्रु, शक्ति समूहबाट माया तामाङ, जिल्ला प्रहरी कार्यालय कैलालीबाट विश्व अधिकारी, हाम्रा कुरा डटकमबाट अजयबाबु शिवाकोटी र पौरखी नेपाल रहनुभएको थियो ।
। गतवर्ष घोषणा गरिएको पुरस्कार तथा सम्मान पनि कोरोना भाइरस (कोभिड–१९) का कारण प्रदान गर्न नसकिएकोमा यस वर्ष प्रदान गरिएको थियो ।

यस वर्ष ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता ः सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने मूल नारासहित विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ । कार्यक्रममा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध सभ्य समाजको बाधक तत्व रहेको उल्लेख गर्नुहुँदै यस्तो सामाजिक कलंकको रूपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार निकाय, नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्ण सरोकारवालाहरू एकजुट भएर आगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै उहाँले यसको रोकथाम र नियन्त्रणका लागि सबैको उत्तिकै साथ सहयोग रहेको बताउँदै सञ्चार माध्यमले गरेका कार्यको प्रशंसा गर्नुभएको थियो । नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले योे दिवस मनाउन थालिएको हो ।

सार्कको ११औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालिन व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि त्यही दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।

हिमालय टाइम्सलाई आचारसंहिता पुरस्कार

यता, प्रेस काउन्सिल नेपालले आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिकलाई प्रदान गर्ने भएको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दैे आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिकलाई प्रदान गर्ने निर्णय गरेको जनाएको हो । यस्तै प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । यस बर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कार विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गरिने भएको छ । भाषागत पत्रकारिता पुरस्कारमा लक्की चौधरी, कैलाली (थारु भाषा)लाई प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै क्रियाशील पत्रकारिता पुरस्कारमा माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्द चौलागाईं, रामानन्द गुप्ता, बासुदेव शर्मा ‘बबिन’, सुशील अर्याल र रमेश ढुंगेललाई प्रदान गरिने भएको छ ।

यसैगरी युवा पत्रकारिता पुरस्कारमा घनश्याम खड्का, उर्वशी वस्नेत न्यौपाने, एलपि देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बु, भगवती थापा र शिवकुमार रिजाल ‘काशी’लाई प्रदान गरिने निर्णय गरिएको छ ।

पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ ।