आयरल्यान्डकी सबैभन्दा जेठी महिलाको निधन


लन्डन,(एजेन्सी) ।

गणतन्त्र आयरल्यान्डमा सबैभन्दा पाको उमेरकी महिलाको १ सय ७ वर्षको उमेरमा निधन भएको छ । काउन्टि मिथको क्लोनार्ड निवासी नान्सी स्टेवार्टले शुक्रबार बिहान आफ्नो पारिवारिक निवास स्थानमा शान्तिपूर्वक प्राण त्यागेकी थिइन् । गत वर्ष मुलुकमा कोभिड १९ सम्बन्धमा बन्देजहरू लगाइएयता उनको घरमा नान्सीलाई उनकी नातिनी लुइस कोग्लानले स्याहारसुसार गर्दै आइरहेकी थिइन् । लकडाउनका बेला नान्सी र उनकी नातिनीले टापुका ३२ वटा काउन्टिमा आयोजित भच्र्युअल सामूहिक सेवामा सहभागी भएर सामाजिक सञ्जालप्रतिको मोह प्रर्दशन गरेका थिए ।

कोग्लानले गत जनवरीमा बीबीसी न्युज एनआई ब्याकसँग कुराकानी गर्ने क्रममा आपूmले निरन्तर रूपमा आफ्नी बज्यैलाई खुशी पार्न विभिन्न नयाँ नयाँ तरिकाहरू अपनाउने गरेको बताएकी थिइन् ।

कागलनले बताएकी थिइन्– ‘मैले बज्यैलाई मानिसहरूको हुल हेर्ने होभन्दा उनका आँखा लाखौं युरो भेटाएको जसरी खुशीले चम्किला हुने गर्दथे । उनी भान्छामै आरामदायी कुर्सीमा बसेर सामूहिक सेवामा लागेका मानिसहरू हेरे रमाउने गर्दथिन् ।’

वास्तवमा सन् १९०३ मा जन्मेकी नान्सी मुलुकभन्दा पनि जेठी थिइन् । उनले स्वाधीनताका लागि भएको आइरिस युद्ध, दुवै विश्वयुद्ध र विश्वव्यापी दुई वटा महामारीको प्रत्यक्ष अनुभव गरेकी थिइन् ।

आफ्नी बज्यैलाई सम्झिँदै कोग्लानले फेसबुकमा लेखेकीछन् – ‘उनी सधैं मेरो मुटुको टुक्रा थिइन् । निकै दिक्क लागेका बेला पनि उनी मेरो मुस्कानको कारण बन्ने गर्थिन् । १ सय ७ वर्षीया नान्सी मेरो संसारै थियो । एकदिन हाम्रो अवश्य भेट हुने नै छ ।’

आइतबार उनको गृहनगरस्थित सेन्ट फिनियान्स चर्चमा भएको नान्सीको अन्त्येष्टिको अनलाइन स्ट्रिम्ड भएको थियो ।