लैंगिक आधारमा विश्वविद्यालय छुट्याइने


काबुल, (एजेन्सी) ।

तालिवान लडाकु समूहले अबदेखि अफगान विश्वविद्यालयलाई लिंगअनुसार छुट्याइने तथा महिलाहरूका लागि नयाँ पोशाक कानुन लागु गरिने जनाएको छ । उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूलाई अध्ययन गर्ने अवसर त दिइने त तिनीहरूले पुरुषहरूसँग बसेर भने पढ्न नपाउने संकेत दिएका छन् ।

साथै उनले विद्यार्थीहरूलाई पढाइने पाठ्यपुस्तकमाथि पनि पुनरावलोकन गरिने बताएका छन् । सन् १९९६ देखि २००१ सम्म तालिवानको शासनकालमा भने महिला तथा बालिकाहरूलाई विद्यालय जानबाट प्रतिबन्ध लगाइएको थियो । तर, हालै मात्र अमेरिकी नेतृत्वको फौजले अफगानिस्तान छाडेपछि सत्तामा पुगेका तालिवानले यसपालि भने महिलाहरूलाई शिक्षा र रोजगारबाट टाढा नराखिने जनाएको छ ।

तर, गत १५ अगस्टमा पूरै अफगानिस्तान कब्जा गरे यता तालिवानले जन स्वास्थ्य क्षेत्रमा संलग्नबाहेक सम्पूर्ण महिलालाई मुलुकको सुरक्षा व्यवस्थामा सुधार नआएसम्म कामबाट टाढै बस्न अनुरोध गरेको छ । तालिवानले राष्ट्रपति भवनमा आफ्नो झण्डा फहराएको भोलिपल्ट अर्थात् आइतबार उच्च शिक्षा नीति घोषणा गरेर आफ्नो प्रशासनिक काम शुरू भएको संकेत दिएको हो ।

छात्राहरूका लागि तालिवान सरकारले तय गरेको कडा नयाँ पोशाक नियमविरुद्ध अहिले अफगान महिलाहरूले अनलाइनमार्फत विरोध प्रदर्शन गर्न थालेका छन् । तिनीहरूले अनलाइनमा ‘मेरो लुगा नछुनु र अफगानिस्तान संस्कृति’ जस्ता सन्देशसहित रंगीचंगी पोशाक लगाएर खिचिएका आफ्ना तस्विरहरू पोस्ट गर्न थालेका छन् ।