चीनको एक विद्यालयमा कोरोना संक्रमण फैलियो


बेइजिङ,(एजेन्सी) ।

चीनमा कोराना भाइरस संक्रमणका नयाँ घटनाहरू भेटिएका छन् । फुजियान प्रान्तको एउटा प्राथमिक विद्यालयमा कोरोना संक्रमित देखिएका हुन् । प्रारम्भिक अनुसन्धानले गत साता कोभिड पोजिटिभ देखिएको सो विद्यालयका एकजना विद्यार्थीको पिताका कारण महामारी फैलिएको हुनसक्ने अनुमान गरेको छ ।

चार दिनभित्र एक सयजनाभन्दा बढी व्यक्तिमा कोभिड संक्रमण देखिएपछि स्थानीय प्रशासनले एक साताभित्रै सो विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई स्वास्थ्य परीक्षण गराउन कडा निर्देशन दिएको छ । विश्वमै पहिलोपटक कोरोना भाइरस देखिएको चीनको हुवेइ प्रान्तको वुहानपछि नानजिङमा अर्को ठूलो कोरोनाको मार परेको एक महिनापछि फुजियान यो स्थितिमा पुगेको हो ।

करिब तीस लाख जनसंख्या भएको फुजियान प्रान्तको पुसियान शहर यस महामारीको शिकार भएको हो । गत ४ अगस्टमा सिंगापुरबाट फर्केको ३८ दिनपछि अर्थात् १० सेप्टेम्बरमा ती अभिभावक कोरोना पोजिटिभ देखिएका थिए ।

सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार २१ दिन क्वारेन्टाइनमा बसेका ती अभिभावकको कोरोना परीक्षण नेगेटिभ आइसकेको छ । उनलाई विदेशमा कसरी भाइरस सर्‍यो भन्ने स्पष्ट हुन सकेको छैन । फुजियान प्रान्तका सरकारी अधिकारीहरूले महामारी नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थलहरूमाथि वन्देजहरू लगाइसकेका छन् ।