खोप लिएको झुठो कार्ड बोक्ने युुवती पक्राउ


लसएन्जलस, (एजेन्सी) ।

कोभिडविरुद्ध खोप नलगाएरै पनि अमेरिकाको हवाइमा दश दिने क्वारेन्टाइन बस्नुपर्ने नियम छलेर त्यहाँ बिदा मनाउन खोज्ने एक महिलाको प्रयास असफल भएको छ । खोप लगाएको प्रमाणिकरण गर्ने कार्डमा लेखिएका शब्दको गलत हिज्जेका कारण उनी प्रहरीको फन्दामा परेकी हुन् ।

खोप लगाएको झुठो कागजात बोकेको अभियोगमा शनिबार होनोलुलुस्थित ड्यानियल के. इनोयु अन्तर्राष्ट्रिय विमानस्थलमा २४ वर्षीया क्लोए म्रोजाक नामक युवतीलाई प्रहरीले गिरफ्तार गरेको हो । स्थानीय स्टेसन केएचओएन टेलिभिजनका अनुसार उनलाई २ हजार अमेरिकी डलर जमानतमा छाडिएको छ ।

२३ अगस्टमा हवाइमै पहिलोचोटि पुगेकी म्रोजाकको कोभिड १९ खोपको कार्ड नक्कली हुनुपर्ने शंका राज्य यात्रा सुरक्षा कार्यक्रम प्रशासकले गरेका थिए । ल एन्ड क्राइम डटकमका अनुसार इलिनोइस निवासी म्रोजाकको कार्डमा उनलाई डिलावरमा ‘सीपीएल वुल्फ’ र ‘एसएसजीटी मोन्टी’ नामक नेसनल गार्डस्का दुई सदस्यले खोप लगाएको उल्लेख गरिएको छ । हवाइको सरकारी निकायले डिलावरका अधिकारीहरूसँग सोधखोज गर्दा म्रोजाक नामक कुनै पनि व्यक्तिलाई खोप दिएको अभिलेख फेला नपरेको पत्ता लागेको थियो ।

साथै सो कार्डमा मोडर्ना खोपको हिज्जे ‘माडर्ना’ लेखिएको पाइएको छ । प्रारम्भिक शंकाका बाबजुद पनि उनलाई विमानस्थलबाट जान दिइएको थियो । तर, पछि खोजी गरिँदा प्रहरीले उनलाई उनले बुक गरेको होटेलमा भेटाउन सकेन । विशेष गुप्तचर अधिकारी विलियम लाउले अन्ततः उनको फेसबुक एकाउन्ट फेला पारे ।

आफूलाई मोडेल भनेर चिनाएकी उनको फोटो ग्यालरीको एउटा फोटोमा उनको बायाँ नितम्बमा ट्याटु खोपिएको देखियो । सोही ट्याटुका आधारमा घर फर्कने तयारीमा रहेकी उनलाई होनालुलु एयरपोर्टको साउथवेस्ट एयरलायन्स काउन्टरमा पक्राउ गरिएको थियो । उनले आफूले निजी डाक्टरबाट पैसा तिरेर खोप लिएको अर्को झुठ बोलिन् । किनभने अमेरिकामा कोभिड १९ खोप निःशुल्क उपलब्ध हुन्छ ।