एफबीआईद्वारा ११ सेप्टेम्बर घटनाको प्रतिवेदन सार्वजनिक



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) ले शनिबार राति सन् २००१ को ११ सेप्टेम्बरमा अमेरिकामा भएका आत्मघाती तथा आतंककारी हमलाबारे नयाँ गोप्य दस्तावेज सार्वजनिक गरेको छ । यस दस्तावेजमा हमलामा संलग्न दुईजना साउदी विमान अपहरणकारीलाई बन्दोबस्तीका सामान दिएर सहयोग गरिएको कुरा उल्लेखित छ ।

 ती अपहरणकारीको अमेरिकामा रहेका अन्य सहयोगीका भूमिकामा रहेका साउदी नागरिकहरूसँगको सम्बन्धबारेमा पनि विस्तृत विवरण खुलाइएको छ । तर, उक्त अवैध षड्यन्त्रमा साउदी सरकारका वरिष्ठ अधिकारीहरूको संलग्नता रहेको प्रमाण भने अमेरिकाले दिन सकेको छैन ।

अमेरिकाका विभिन्न स्थानमा झण्डै ३ हजार मानिसको ज्यान जानेगरी आतंककारी ओसामा विन लादेनको अलकायदा समूहका सदस्यहरूले अपहरित विमानबाट आक्रमण गरेका थिए । सोही आक्रमण घटेको बिसौं वार्षिक स्मरण कार्यक्रममा यो दस्तावेज एफबीआईले सार्वजनिक गरेको हो ।

 वर्षौंदेखि जनमानसबाट टाढा राखिएको यो प्रतिवेदन राष्ट्रपति जो बाइडेनको आदेशमा सार्वजनिक भएको हो । सन् २०१५ मा ती अपहरणकारीहरूलाई सघाउने अ‍ेमरिकास्थित साउदी नागरिकहरूसँग सम्पर्कमा रहेकाएका व्यक्तिलाई गरिएको सोधखोजमा यो १६ पृष्ठको प्रतिवेदन तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्