सल्यान जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा समस्या

322
Shares

न्युज अफ नेपाल, सल्यान ।

जिल्ला अस्पताल सल्यानमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । स्वास्थ्य मौलिक अधिकार भए पनि स्वास्थ्यकर्मी नै नभएपछि अस्पतालबाट सेवा प्रवाह गर्न समस्या भइरहेको हो । नर्सको ९ दरबन्दी रहेकोमा २ जना मात्र रहेका छन् । जसमा एक जना अध्ययन बिदामा रहेका छन् भने सिनियर अनमीको ३ दरबन्दी रहे पनि १ मात्र पूर्ति भएको सल्यान जिल्ला अस्पताले जनाएको छ ।

करारमा अन्य ७ जना राखेको भएपनि १५ शय्याको अस्पताल र कोभिड अस्पतालमा सेवा प्रवाह गर्न निकै समस्या हुँदै आइ रहेको सल्यान जिल्ला अस्पताल सल्यानका डा. प्रदीप शर्माले बताउनु भयो । डाक्टरको व्यवस्था भएपनि नर्स निकै कम हुँदा बिरामीलाई सेवा दिन समस्या हुने गरेको उहाँको भनाई छ ।

दैनिक १२ देखि १५ जनासम्म सुत्केरी हुने र जनरल वार्डमा ५ देखि १० जनासम्म बिरामी आउने गरेको नर्स तारा शाहीले बताउनु भयो । नौ जना स्टाफले १४ सं घण्टा काम गर्दा निकै समस्या हुने गरेको उहाँको भनाई छ । दिनमा भन्दा नाइट ड्युटीमा दुई जनाले मात्र गर्दा साह्रै गाह्रो हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘१२ जना जति दैनिक डेलिभरी भइरहेका हुन्छन् ।

डेलिभरी वार्डमा जाँदा जनरल तिर छुट्छ , जनरल तिर जाँदा डेलिभरी वार्ड तिर छुटी रहेको हुन्छ ।’ पछिल्लो समयमा कोभिड अस्पताल थपिदा झनै समस्या भएको अस्मिता बुढाथोकीको भनाई छ । दरबन्दीका स्टाफ नहुँदा प्रसूति देखि अन्य सेवा प्रवाह समस्या हुने गरेको उहाँको भनाई छ ।

जिल्ला अस्पतालका दरबन्दीका स्टाफ नर्स नभएको धेरै वर्ष भइसकेको भएपनि अहिलेसम्म पदपूर्ति हुन नसकेको डा. शर्माले बताउनु भयो । करारमा रहेका स्टाफको पनि करार म्याद थपिने नथपिने निश्चित नभएको उहाँको भनाई छ ।

जागिरको निश्चित नहुँदा करारमा बसेका नर्सहरू पनि तीन तीन महिनामा फेरिने गरेको शर्माले बताउनु भयो । प्रदेश सरकारलाई स्वास्थ्य जस्तो संवेदनशील विषयमा ध्यान दिन आग्रह गरेको भएपनि सुनुवाइ नभएको उहाँले बताउनु भयो ।