पूर्व राष्ट्रपति घानीले अफगान जनतासँग माफी मागे



दुबई, (एजेन्सी) ।

अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले तालिवान लडाकुहरूले आक्रमण गर्ना मुलुक छाडेर संयुक्त अरब इमिरेट्समा शरण लिन पुगेकोमा अफगान जनतासँग बुधबार ट्विटरमार्फत औपचारिक रूपमा क्षमा याचना गरेका छन् । उनले भनेका छन् – ‘काबुल छोड्नु मेरो लागि जीवनकै सबैभन्दा कठिन निर्णय थियो । मैले अर्को फरक निर्णय गर्न नसकेकोमा माफी माग्न चाहन्छु ।’ गत १५ अगस्टमा तालिवान लडाकुहरू राजधानी काबुलतर्फ बढ्न थालेपछि उनले तुरुन्तै मुलुक छाडेका थिए ।

उनले आफूले अफगान जनतालाई छाडेर जान नचाहेको तर आफुसमक्ष त्यही एक मात्र विकल्प बाँकी रहेको पनि बताएका छन् ।

साथै घानीले संयुक्त अरब इमिरेट्समा आफूले १६ करोड ९० लाख अमेरिकी डलर लिएर गएको भन्ने हल्ला आरोप सरासर निराधार रहेको पनि स्पष्ट पारेका छन् । अफानिस्तानमा थप रक्तपात हुन नदिन आफूले देश छाड्नुको विकल्प नरेहको कुरा उनले शुरूदेखि नै भन्दै आएका हुन् । उनले काबुल र त्यहाँका ६० लाख जनताको सुरक्षाका लागि मुलुक छाडेको बताएका छन् ।

यसै गरी घानीले अफगानिस्तानलाई एउटा प्रजातान्त्रिक , समृद्धशाली र सार्वभौम मुलुक बनाउन आफूले बिस वर्ष समर्पण गरेको पनि स्मरण गराएका छन् ।

अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय फौजले अफगान भूमि छाडेपछि तालिवान लडाकुहरूले सम्पूर्ण अफगानिस्तान कब्जा गरेका थिए । तालिवानहरूले आफूहरू माथि प्रतिशोधात्मक आक्रमण गर्ने डरले हजारौं अफगान जनताले देश छाडिसकेका छन् । हालै मात्र तालिवानले नयाँ अन्तरिम सरकार गठन गरेको छ । तर, अमेरिकाले सरकारमा अमेरिकी फौजमाथि आक्रमण गर्नेहरूलाई समेत संलग्न गरेको भन्दै आलोचना गरेको छ ।

यसै गरी युरोपेली संघ (ईयू) ले पनि सरकारमा समवेशीकरण एवं प्रतिनिधिमूलक नबनाइएको भन्दै विरोध गरेको छ । अफगानिस्तानभित्रै पनि महिलाहरूले मन्त्रीमण्डलमा महिला सहभागिता हुनुपर्ने माग गरिरहेका छन् । नयाँ सरकारलाई तालिावनको सर्वोच्च नेताले मुलुकमा इस्लामिक कानुन अर्थात् सरियात लागु गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्