कोभिड सार्ने भियतनामीलाई पाँच वर्ष जेल



हनोइ,(एजेन्सी) ।

भियतनामका एकजना पुरुषलाई कोभिड – १९ नियन्त्रण तथा रोकथामका लागि जारी गरिएका नियमहरू उल्लंघन गरेको तथा जानीजानी कोरोना भाइरस फैलाएको आरोपमा त्यहाँको एक अदालतले पाँच वर्ष लामो काराबास सजाय सुनाएको छ । अदालतले लि भान ट्रि नामक ती युवकलाई आठ व्यक्तिमा यो खतरनाक भाइरस सारेको अभियोगमा दोषी करार गरेको छ ।

उनले यसरी रोग सारेकामध्ये एकजनाको ज्यानै गएको अनुसन्धानबाट खुलेको छ । विश्वमै तुलनात्मक रूपमा अझै पनि भियतनाम कडा नीति नियमको कारण कोराना भाइरस संक्रमण गर्न निकै सफल मुलुक मानिएको थियो । तर, गत जुनदेखि अति खतरनाक र छिटो सर्ने डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या ह्वात्तै बढ्न पुगेको छ ।

अहिलेसम्म करिब ५ लाख ३० हजार संक्रमित देखिएको भियतनाममा १३ हजार ३ सय जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये अधिकांश घटना केही महिनाअघि मात्र घटेका हुन् । अधिकांश संक्रमित होचि मिन्ह शहरमा फेला परेका छन् ।

ती २८ वर्षीय ट्रि नामक युवक मोटर साइकलमा बसेर होचि मिन्हबाट भियतनामको दक्षिणी भागमा रहेको का माउ प्रान्तस्थित आफ्नो घर पुगेका थिए । का माउमा उनले आफ्नो स्वास्थ्य स्थितिबारे झुठो बोल्नुका साथै आइसोलेसनको नियम पनि पालना गरेका थिएनन् ।

स्थानीय प्रशासनले त्यतिबेला बाहिरबाट का माउ आउने जो कोहिले २१ दिन अनिवार्य रूपमा आइसोलेसनमा बस्नैपर्ने नियम बनाएको थियो । स्वास्थ्य परीक्षणमा कोभिड पोजेटिभ देखिएका उनले आफ्ना परिवारका सदस्य लगायत उनी गएको एउटा समाज कल्याण संस्थाका कर्मचारीहरूलाई पनि कोभिड सारेका थिए ।

उनलाई ८ सय ८० अमेरिकी डलर जरिवानासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्