प्रजिअ नहुँदा सेवा प्रवाहमा समस्या


विमल विष्ट ,डोटी ।

जिल्ला प्रशासन कार्यालय डोटीमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएको अन्य दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन निकै समस्या भएको छ ।

जिल्लामा अहिले महिना दिनदेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ ।

यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारीविहीन बनेको हो । प्रमुख जिल्ला अधिकारीको सरुवा भएपछि अहिले निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई तोकिएको छ ।

एक जना मात्रै निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नु पर्ने बाध्यता रहेको छ ।

जिल्ला प्रशासनमा महिनौं यतादेखि कर्मचारी अभावले सेवाग्राहीहरू सास्ती झेल्न बाध्य भएका छन् । लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीहरू सास्ती झेल्न बाध्य हुँदै आएको सेवाग्रहीको गुनासो रहेको छ ।

प्रमुख जिल्ला अधिकारीसहित २१ जनाको दरबन्दी रहेकोमा हाल १७ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका कामकाजमा समस्या उत्पन्न भएको बताइएको छ ।

नागरिकता फाँटका एक जना प्रशासकीय अधिकृत, नायब सुब्बा सातमध्ये दुई र खरिदार चार मध्ये दुई, एक जना चालकको दरबन्दी पनि खाली छ ।

चाँडो काम गराउने आस लिएर सेवाग्राहीहरू कार्यालय खुल्नु अघिदेखि नै लाइनमा बस्ने गर्छन् । तर दिनभरि लाइन बस्दा पनि काम नभएपछि निराश भएर सेवाग्राही घर फर्किनुपर्ने बाध्यता रहेको स्थानीयबासी रमेशबहादुर केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो–’सेवाग्राही दिनभर लाइन बसेका हुन्छन्, फाँटमा तोकिएको दरबन्दीका कर्मचारी नहुँदा रित्तो हात फर्किन बाध्य हुन थालेका छन्, टाढाबाट आएका सेवाग्राहीलाई निकै दुःख भयो ।

सेवाग्राहीहरूको निवेदनमा तोक लगाउने एक जना पनि अधिकृत नहुँदा झनै समस्या उत्पन्न हुने गरेको र दुई दिनसम्म धाउँदा पनि काम हुन नसकेको सेवा ग्राहीको गुनासो रहेको छ ।

पछिल्लो समय जिल्ला प्रशासनमा नयाँ नागरिकता तथा प्रतिलिपि लिनका लागि आउने सेवाग्राहीको सङ्ख्या अधिक रहेका कारण कर्मचारी अभाव हुँदा काममा केही समस्या हुँदै आएको खरिदार तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

कर्मचारी अभावसँगै यहाँका नौवटै स्थानीय तहबाट सेवा लिन आउने सेवाग्राहीको हकमा जिल्ला प्रशासनले बार तोकेर नागरिकता लगायतका सेवा दिइने व्यवस्था मिलाएको छ ।

जिल्लाको विभिन्न दुर्गम स्थानबाट सेवा लिन आए पनि छिटो छरितो सेवा प्रवाह हुन नसक्दा आफूहरूले सास्ती झेल्न परेकाले अविलम्ब कर्मचारी व्यवस्थापन गर्न सेवाग्राहीले माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सह–सचिव) एकजना, सहायक प्रमुख जिल्ला अधिकारी एक जना उपसचिवसहित २१ जनाको दरबन्दी छ । दुई प्रशासकीय अधिकृतमध्ये दुईजना, नायब सुब्बा सातमध्ये दुई र खरिदार चारमध्ये दुई, एक जना चालकको दरबन्दी पनि अझैसम्म खाली रहेको छ ।

लामो समयदेखि कर्मचारी अभावमा कार्यालयको कामकाज सञ्चालन गर्न तथा सेवाग्राहीलाई सेवा दिन समस्या पर्ने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो–‘दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको छ, म एक्लै छु, सके जति सबै काम गरेको छु, समस्या भएको छ ।’

आफूले गृहमन्त्रालयमा दरबन्दी खाली हुँदा समस्या भएको बारेमा जानकारी गराइसकेकाले चाँडो कर्मचारी आउन सक्ने उहाँले जानकारी दिनुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारी नभएका कारण सुरक्षासम्बन्धी बैठक पनि बस्न सकेको छैन ।

जिल्ला प्रशासनमा वर्षौंदेखि तोकिएका दरबन्दी रिक्त रहेको भए पनि प्रमुख जिल्ला अधिकारीविहीन भएको भने यो पहिलोपटक भएको कर्मचारीहरू बताउँछन् ।