जर्मनीले ऊर्जा क्षेत्रमा सहयोग बढाउने


काठमाडौं, (नेस) ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा कार्यबाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताउनुभयो ।

नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मनीले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो । चिलिमे–त्रिशूली र लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राख्नुभएको थियो । त्यसैगरी संसद्मा पेस भएको विद्युत् विद्येयकबारे पनि कार्यबाहक राजदूत रुसेकले चासो व्यक्त गर्नुभएको थियो ।

त्यसक्रममा मन्त्री भुसालले नेपाल–जर्मनीबीचको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मनीले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वैकल्पिक ऊर्जा एवम् प्रसारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तवरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माण एवं कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जर्मनीले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।