काग्रेस महाधिवेशन : हिन्दु राज्यको एजेण्डा बोक्नेलाई नेतृत्व


रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली काँग्रेसको पछिल्लो पटक बसेको महासमिति बैठकमा कुल संख्याको आधा भन्दा बढी सदस्यले उठाएको हिन्दुराज्यको एजेण्डा महाधिवेशनमा पनि उठ्ने भएको छ । हिन्दुराज्यको पक्षमा रहेका नेताहरुले यो एजेण्डा बोक्ने नेतृत्व चयन गर्न माहौल बनाउने भएका छन् ।

केन्द्रिय समिति भन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति बैठकमा ७ सय भन्दा बढी सदस्यहरुले नेपाली काग्रेस धार्मिक स्वतन्त्रता सहितको हिन्द राज्यको पक्षमा उभिनुपर्ने भन्दै हस्ताक्षर गरि केन्द्रिय नेतृत्वलाई वुझाएका थिए । २०७५ मंसिर २९ देखि पुस ८ सम्म बसेको महासमिति बैठकमा हिन्दुराष्ट्र बनाउने प्रस्तावले प्रवेश पाएपनि ठोस निर्णय भएको थिएन । महासमिति बैठकपछि नेपाली काग्रेस धार्मिक स्वतन्त्रता, एक अर्काको धर्मप्रति सम्मान र धार्मिक सहिष्णुता र समभावमा विश्वास गर्दछ मात्र भनिएको थियो ।

‘महासमिति बैठकमा उठेको हिन्दुराज्य स्थापनाको एजेण्डा जिवन्त छ’ काग्रेस केन्द्रिय सदस्य पुष्पा भुषालले नेपाल समाचारपत्रसंग भन्नुभयो– यो एजेण्डा आउदो महाधिवेशनमा पनि उठ्छ । महाधिवेशनले काग्रेसका धेरै नेता तथा कार्यकर्ताहरुको भावना समेटिएको यो एजेण्डाबारे बोले पनि नबोले पनि हिन्दुराज्यबारे आवाज उठ्ने उहाँ बताउनु हुन्छ ।

हिनदुराज्यको पक्षमा काग्रेस भित्र निरन्तर रुपमा शसक्त आवाज उठाउदै आउनु भएका नेता केन्द्रिय सदस्य शंकर भण्डारी पनि महाधिवेशनमा हिन्दुराज्य बनाउने को कुरा मुल एजेण्डा हुने बताउनु हुन्छ । हिन्दु राज्यको एजेण्डा बोक्ने सभापति लगाएत केन्द्रिय सदस्यहरुलाई विजयी गराउन सबै एकजुट हुने भन्दै भण्डारी थप्नुहन्छ– महाधिवेशनको यो मुल एजेण्डा भएकोले जस्ले यो एजेण्डा बोक्छ त्यसैले महाधिवेशनमा चुनाव जित्छ ।

काग्रेस नेताहरु देवेन्द्र कडेल, श्याम घिमिरे मात्र हैन महामन्त्री डा. शसांक कोइराला, डा. शेखर कोइराला पनि हिन्दु राज्यको पक्षमा देखिन्छन । कोइरालाले त धर्मनिरपेक्षता र हिन्दु राज्यको बारेमा जनमत संग्रहनै गर्नुपर्ने बताउदै आउनु भएको थियो ।

‘करिब १ हजार ४ सय महासमिति सदस्य मध्य ७ सय भन्दा बढी महासमित सदस्य हिन्दु राज्य कायम हुनुपर्ने पक्षमा रहदा पनि काग्रेस नेतृत्वले वास्ता गरेको छैन’ सभापति शेरवहादु देउवाको गृह जिल्ला डडेल्ढुराका जिल्ला सभापति कर्ण मल्लले भन्नुभयो– १४औं अधिवेशनमा हिन्दुराज्यको एजेण्डा जस्ले बोक्छ नेतृत्व लैजान उसैलाई सघाउछौं ।

महासमिति सदस्यहरुले नेपाललाई सनातन धर्मसापक्ष हिन्दुराष्ट्र कायम गर्दै बौद्ध, किरात बोन लगाएतका सबै नेपालीका मौलिक धर्म सस्कृतिको संरक्षण गर्ने पार्टीको रुपमा विधानलाई व्यवस्था गर्दै संविधानपनि संशोधन गर्ने एजेण्डा लिएर राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा नेपाली काग्रेस अघि बढ्नुपर्ने माग यो एजेण्डा ल्याएका थिए ।