बाढीपहिरोमा परी तीनको मृत्यु


किरन धामी, दार्चुला ।

लगातारको वर्षासँगै विभिन्न खोलामा आएको बाढी र पहिरोमा परी जिल्लाका तीन जनाले ज्यान गुमाएका छन् भने दुई बेपत्ता भएका छन् ।

आइतबार राति वर्षासँगै खसेको पहिरोमा परी दुहुँ गाउँपालिका–१ बास्पाली भालुखोलाका ६५ वर्षीय नरसिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशा महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरूको पुरिएर मृत्यु भएको उहाँले बताउनुभयो ।

यस्तै, दुहुँ गाउँपालिकाकै वडा नम्बर ५ दुल्लामा बाढीले बगाउँदा ५० वर्षीय मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको बताइएको छ । बाढीले घर, जग्गा, पुल पुलेसा, लघु जलविद्युत्, पानी घट्ट र पशुचौपापायामा समेत क्षति पुर्‍याएको उहाँले जानकारी दिनुभयो ।

यता, महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमाना भएर बाग्ने निजाङगाड खोलमा आएको बाढीमा परी दुई जना बेपत्ता भएका छन् । बाढीमा परी दुहुँ गाउँपालिका–३ का शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको प्रहरीले बताएको छ ।

बाढीले दार्चुला–तिंकर सडकको श्रीबगरस्थित मोटरपुल बगाउनुका साथै दुईवटा झोलुंगे पुल बगाएको छ । श्रीबगर क्षेत्रमा रहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोस्ट कार्यालयको आधा भाग बगाएको छ । सोही क्षेत्रमा रहेका स्थानीय पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दीपक बम, रणबहादुर बम धीरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको प्रहरीले जनाएको छ ।

श्रीबगरस्थित पसल थापेर बसेका महाकाली नगरपालिका–१ का देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जितबहादुर बमको होटल तथा पसल बगाएको छ । दार्चुला–तिंकर सडकको मोटर पुल बगाएपछि दुहुँ गाउँपालिका र व्यास गाउँपालिकासँगको सम्पर्क विच्छेद भएको बताइएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसका प्रतिनिधिले राहत तथा उद्धार गरिरहेका छन् ।

हेलीमार्फत घाइतेको उद्धार

पहिरोमा परी गम्भीर घाइते भएका दुहुँ गाउँपालिका–५ का जनकराम पार्की र उजलीदेवी डडालको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आग्रहमा गृह मन्त्रालयले नेपाली सेनासँग समन्वय गरी उनीहरुको उद्धार गरिएको थियो । उनीहरुको थप उपचारका लागि धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।