महानगरपालिकाको कार्यालयमा फोहोर थुपारेर विरोध प्रदर्शन


ईश्वरराज ढकाल, काठमाडौँ ।

काठमाडौंको फोहोर नउठेपछि स्थानीयले काठमाडौं महानगरपालिकाको कार्यालय सुन्धारामा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् ।

तीन सातादेखि राजधानीका सडक किनारामा थुप्रिएको फोहोर उठ्न नसकेपछि फोहोरसहित विरोध प्रदर्शन गरिएको थियो । युथ कांग्रेसको नाममा भएको विरोध प्रदर्शनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउनुभएको छ ।

बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्ड साइट र सिसडोल ल्यान्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीसँग कुराकानी गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘बञ्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा स्थायीरूपमा फोहोर व्यवस्थापन गर्न सक्छौं ।’

केही दिनदेखि वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटसम्म जाने बाटो बिग्रिएका कारण नियमितरूपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भइरहेको भन्दै शाक्यले भन्नुभयो– ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ । त्यही कारण केही दिनदेखि पूर्णरूपमा फोहोर उठाउन नसकेका हौं ।’

उहाँले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई स्वच्छ राख्ने प्रयासमा लाग्न सम्पूर्ण महानगबासीलाई अनुरोध गर्नुभयो । उहाँले बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेको जिकिर गर्दै भन्नुभयो– ‘त्यसका लागि हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौं । मुख्य गरेर हामीले शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक विभागसँग सहकार्य गरिरहेका छौं ।’

शाक्यले सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि सडक विभागलाई आग्रह गरेको जानकारी दिँदै भन्नुभयो– ‘हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौं । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौं । शहरी विकास मन्त्रालयसँग हामीले पहिलादेखि नै सहकार्यमा थियौं ।’

अहिले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट शहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताउनुभयो । ‘कसैले कसैलाई दोष लगाएर उम्किन नमिल्ने जिकिर गर्दै उहाँले भन्नुभयो– ‘हामी सबैले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ । मुख्य गरेर शहरी विकास मन्त्रालयले बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइट छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा हामी व्यवस्थापन गर्न सक्छौं । उहाँहरुले हस्तान्तरण नगरेसम्म हामीलाई व्यवस्थापन गर्न कठिनाइ हुन्छ ।’

पूर्वशहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका पालामा समेत बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट निर्माणका लागि उहाँले धेरै प्रयास गरेको भए पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको स्मरण गराउनुभयो । ‘मन्त्री मानन्धरसहित हामी त्यति बेला निरीक्षणका लागि बञ्चरेडाँडा गएका थियौं । त्यसै बेला उहाँहरुले जतिसक्दो छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अहिलेसम्म त्यो भएको छैन ।’

सञ्चारकर्मीको टोलीसँगै सिसडोल पुग्नुभएका काठमाडौं महानगर वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले यो वर्ष सिसडोलमा फोहोर व्यवस्थापन गर्न सकिन्न, बञ्चरेडाँडामा जानुको विकल्प छैन भनेर पटक–पटक भन्दा पनि कोभिडका कारण निर्माण सम्पन्न गर्न ढिलाइ भएकाले थप समस्या भएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो–‘सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यी ट्रकले लगेको फोहोर पनि भ्याली १ को क्षमता बढाएर व्यवस्थापन हुँदै आएको छ । यही कारण शहरभित्रको नियमित फोहोर उठाउन थप समस्या भएको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारीबाट काठमाडौं महानगपालिका एक रति पनि पछि हटेको छैन ।’

सिसडोल ल्यान्डफिल्ड साइटका साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फोहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताउनुभयो ।
१६ वर्षदेखि ओखरपौवा, आलेटार र सिसडोलमा फोहोर व्यवस्थापन

बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी–कोशी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्यांक हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ ।

यसको तथ्यांक यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पु¥याउने गरिएको छ ।

तत्काल बाटो मर्मत गर्न प्रमको निर्देशन

राजधानीमा फोहोर थुप्रिएर राजधानी दुर्गन्धित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडक बिभागका महानिर्देशक अर्जुनजंग थापालाई फोन गरेर ल्यान्डफिल्ड साइट जाने बाटो तत्काल मर्मत गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि सडक बिभागले एउटा टोली त्यसतर्फ सोमबार नै पठाइसकेको छ । सडक बिभागको टोलीले दिन रात लगाएर भए पनि सडक मर्मत गर्ने तयारी गरेको महानिर्देशक थापाले जानकारी दिनुभयो ।