दल परिवर्तन गर्ने समयसीमा भदौ २२


सुनील महर्जन, काठमाडौं ।

निर्वाचन आयोगले हालै मात्र नयाँ दलका रूपमा दर्ता भएका नेकपा एमाले र जनता समाजवादी पार्र्टीमा रहेका प्रदेशसभा र स्थानीय तहका सदस्यलाई दल परिर्वतन गर्न यही भदौ २२ गतेसम्मको समय दिइएको छ ।

नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी लोकतान्त्रिक पार्टीमा प्रवेश गर्न चाहने नेकपा एमाले र जसपाका प्रदेश र स्थानीय तहका सदस्यहरुका लागि सो समयसीमा तोकिएको हो ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । दल दर्ताका लागि निवेदन दिएको दिन भदौ २ गतेदेखि गणना गरेको छ । दल दर्ता अध्यादेशको दफा ३३ को उपदफा २ मा उल्लेख छ– ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र त्यस्तो नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।’

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ । सनाखतका लागि सम्बन्धित कार्यालय प्रमुखले सनाखतसम्बन्धी सम्पूर्ण कार्यको जिम्मेवारी लिई सनाखत गर्न आवश्यक व्यवस्था मिलाइसकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने बताइएको छ । त्यसै गरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ ।

सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले सनाखत गर्ने प्रयोजनका लागि माग गरेबमोजिमको सहयोग तथा आवश्यक सुरक्षा प्रबन्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने बताइएको छ ।

हाल कोभिड–१९ को महामारी तथा संक्रमण दर उच्च रहेको अवस्थालाई मध्यनजर राखी सनाखत गर्ने कार्यमा भीडभाड हुन नदिन तथा पूर्णरूपले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सम्बद्ध सबै पक्षलाई आयोगले आग्रह पनि गरेको छ ।