न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली प्रकाशक तथा प्रसारकहरुको लोकप्रिय संस्था मिडिया अलायन्स नेपाललाई चीनमा स्वास्थ्य शिक्षा हासिल गरेर फर्किएका नेपालीहरुको संगठन अरनिको समाजले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले अलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजका अध्यक्ष डा. श्रेष्ठले चीनको आठ वटा मेडिकल फर्मास्युटिकल कम्पनीले समाजलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाउँदै नेपालस्थित चिनियाँ राजदूतावाससंँग समन्वय गरी राज्यका विभिन्न निकाय, अस्पतालसंँगै अग्रपक्तिमा खटिने विभिन्न संघसंस्थालाई त्यस्ता सामग्री प्रदान गर्दैआएको बताउनुभयो ।
सो अवसरमा अलायन्सका अध्यक्ष राजकर्णिकारले अरनिको समाजले विशेषतः स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा काम गरी चीन र नेपालबीचको सम्बन्धलाई जनस्तरको माध्यमबाट प्रगाढ बनाउन विभिन्न काम गर्दैआएको सम्बन्धमा आफूलाई अवगत भएको उल्लेख गर्दै अलायन्स सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउनुभयो । कोरोना महामारीको समयमा पत्रकारहरु त्यसबाट बचेर काम गर्नसकून् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएकोमा अध्यक्ष राजकर्णिकारले समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
अलायन्सका वरिष्ठ उपाध्यक्ष राजु कँडेल, महासचिव दिरेकलाल श्रेष्ठले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै अरनिको समाजले सामाजिक हितमा गरेको कामको प्रशंसा गर्नुभयो ।
समाजले यसअघि स्वास्थ्य मन्त्रालयलाई ५ करोड रुपियाँ मूल्य बराबरको पीसिआर टेष्ट किट, एक लाख पीसिआर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको थियो । समाजले यसअघि वीर अस्पताल, ट्रमा अस्पताल, प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, क्षेत्रपाटी निशुल्क चिकित्सालय, ललितपुर सामुदायिक स्वास्थ्य हृदय सेवा केन्द्र, महालक्ष्मी उद्योग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघ, महानगरीय प्रहरी परिसर ललितपुर र काठमाडौं, नेवाः पत्रकार राष्ट्रिय दबूलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको थियो । ती सबै सामग्री समाजलाई चीनबाट अनुदान स्वरुप प्राप्त भएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिनुभयो ।
कोरोना महामारीको समयमा नेपालको सहयोगका लागि मित्र राष्ट्र चीन सदैव तयार रहेको सन्देश यसबाट प्रवाह भएको महासचिव डा. प्रजापतिको भनाइ रहेको छ । सो अवसरमा समाजका कोषाध्यक्ष डा. बालकृष्ण श्रेष्ठ र सदस्य. डा कृष्णगोपाल महर्जनको पनि उपस्थिति रहेको थियो ।











प्रतिक्रिया