दुहूँ पहिरो अपडेट : २ को मृत्यु, एक बेपत्ता


न्युज अफ नेपाल, दार्चुला ।

अविरल वर्षाका कारण दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गयराती पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा दुई जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महर र उनकी ६० वर्षीया श्रीमती कौशिला महरको मृत्यु भएको स्थानीय राम सिंह महरले जानकारी दिए । प्रहरी र स्थानीयको सहयोगमा माटोमुनिबाट उनीहरुको शव निकालिएको उनले बताए ।

यस्तै दुहुँ गाउँपालिका–५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडाल बेपत्ता भएको सोमनाथ आधारभुत विद्यालयका शिक्षक मान सिंह डडालले जानकारी दिए । बेपत्ता डडालको खोजी भइरहेको जनाइएको छ । बाढी तथा पहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घरहरु बाढी, पहिरोले बगाएका छन् ।

बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल बगाएको छ । यस्तै गयराती नै निजाङ्ग खोलामा आएको बाढीले महाकाली नगरपालिका–१ श्रीबगडस्थित तिंकर सडकको पक्की मोटरेवल पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका ४ पसलहरु बगाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए ।