साइनो मिडियाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


नेपाल समाचारपत्र, काठमाडौं ।

साइनो नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार कामना प्रकाशन गृहको सभाहलमा आयोजित एक कार्यक्रमबीच सोसाइटीका अध्यक्ष ध्रुव पौडेल, उपाध्यक्ष गगन विष्टसहितको टोलीले प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठ र नेपाल समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्लेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष पौडेलले थोरै भए पनि पत्रकारहरूका लागि स्वास्थ्य सामग्री प्रदान गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । सोसाइटीले नेपालको पर्यटन र सञ्चार क्षेत्रसँग सम्बन्धित रहेर विश्वका विभिन्न देशसँग समन्वय गरेर अघि बढिरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस्तै नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले सोसाइटीले पत्रकारहरूको आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री प्रदान गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताउनुभयो । प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा सोसाइटीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यका लागि तयार रहेको सम्पादक काफ्लेले बताउनुभयो । उहाँले मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध विस्तारमा सोसाइटीले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सो कार्य जारी राख्न आग्रह गर्नुभयो ।

प्रतिष्ठान शाखाका अध्यक्ष राजु श्रेष्ठले सोसाइटीले प्राथमिकताका साथ स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सोसाइटीसँग आगामी दिनमा पनि सहकार्य गर्न आफूहरू तयार रहेको भन्दै सहकार्य गर्न सकिने क्षेत्रबारे पनि जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण सोसाइटीका महासचिव दीपक रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा कामना प्रकाशनका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठसहित प्रकाशनमा कार्यरत झन्डै दुई दर्जन पत्रकार उपस्थित थिए । सन् २०१६ मा स्थापित सोसाइटीले नेपाल–चीन सम्बन्धका विविध कार्यक्रमका अतिरिक्त नेपालको पर्यटन प्रबद्र्धन सम्बन्धित फोटो प्रदर्शनी, चिनियाँ भाषाको कक्षा सञ्चालन, विशिष्ट विदेशी पाहुना र पर्यटकलाई लुम्बिनी तीर्थाटनलगायत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सोसाइटीले चीनमा कोरोना संक्रमणको सुरुआती दिनमा सिछुवानको प्रान्तीय सरकारलाई २० हजार मास्क सहयोगस्वरूप पठाएको थियो । सोसाइटीको अगुवाइमा काठमाडौंमा सिछुवान ‘फुड फेस्टिबल’ र चीनका लसानमा थांका प्रदर्शनीमा सहयोग पुर्‍याएको थियो ।