लुम्बिनीमा मन्त्रालयको संख्या १३ पुर्‍याइयोे


यमलाल भुसाल, बुटवल ।

मन्त्रीका आकांक्षी धेरै भएपछि लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले ९ मन्त्रालय बनाएको थियो ।

त्यसलाई उछिन्दै चार दलीय गठबन्धनबाट मुख्यमन्त्री भएका कुलप्रसाद केसीले ४ मन्त्रालय थप गरी १३ मा पुर्‍याउने निर्णय गर्नुभएको हो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले १३ मन्त्रालयको संख्या बनाउने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताउनुभयो ।

प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजनसमेत गरेको छ । अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन् ।

प्रवक्ता खड्काले मन्त्रालय विभाजनलगत्तै यही हप्ताभित्र मन्त्रीमण्डल विस्तार गर्ने बताउनुभयो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालय वृद्धि गर्नुपरेको हो । जसपाका तीनै जना मन्त्री भएका छन् । लुम्बिनीमा १३ मन्त्री र २ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रीमण्डल बनाउने सरकारको योजना छ ।

यसैबीच लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे नियुक्त हुनु भएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । वौद्धिक रूपमा सफल रहनुभएका र आर्थिक विषयको विज्ञका रूपमा चिरपरिचित घिमिरे माओवादी केन्द्रका नेता हुनुहुन्छ ।

यस्तै, आयोगको सदस्यमा शिवपुजन यादव, दामोदर भुसाल नियुक्त हुनुभएको प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिनुभयो । ५ सदस्यीय आयोगमा बाँकी सदस्यपछि नियुक्त गर्ने उहाँले बताउनुभयो ।