‘नेपालमा कोभिडविरुद्धको खोप अत्यन्त प्रभावकारी’


काठमाडौं, (नेस) ।

नेपालमा कोभिड–१९ विरुद्धको खोप अत्यन्त प्रभावकारी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले खोप अत्यन्त प्रभावकारी भएकोे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार दोस्रो राष्ट्रिय कोभिड खोप सर्वेक्षणमा पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरुमा ९० प्रतिशत र एक मात्रा खोप लगाएकामा ८० प्रतिशत एन्टिबडी देखिएको छ । राष्ट्रिय कोभिड खोप सर्वेक्षणअन्तर्गत असार २१ गतेदेखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको नमुना संकलन गरी विश्लेषण गरिएको थियो ।

सर्वेक्षणले सातै प्रदेश हिमाल, पहाड, तराई, गाउँ, शहर, सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समानरूपमा नै एन्टिबडी देखिएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार देशभरि ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको थियो ।

खोप प्रभावकारी देखिए पनि कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको नियन्त्रण र रोकथाम गर्नु एक मात्र उपाय भएको भन्दै स्वास्थ्य मन्त्रालयले भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न, सरसफाइमा ध्यान दिन र आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह पनि गरेको छ ।