संसदीय दलको नेतामा नेपाल सर्वसम्मत

0
Shares

काठमाडौं, (नेस) । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता मा नेपाललाई नै चयन गरेको छ ।

पार्टी दर्ता भएपछि आइतबार संसद् भवनमा बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई गत बुधबार दल दर्ताको प्रमाणपत्र दिएको हो ।

यस्तै, राष्ट्रिय सभामा संसदीय दलको नेतामा डा. वेदुराम भुसाललाई चयन गरेको छ । उहाँ पनि सर्वसम्मत नेताका रूपमा चयन हुनुभएको हो । बैठकले उहाँलाई मन्त्री छान्ने अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ । पार्टीले यसअघि नै देउवा सरकारमा जाने निर्णय गरिसकेको छ । प्रधानमन्त्री देउवाले आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको छ ।

निर्वाचन आयोगले गत बुधबार सो दललाई मान्यता दिएको थियो । दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ । संसदीय दलको बैठकले भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी सम्मिलित विधान मस्यौदा समिति बनाएको छ ।